‘दिनहुँ केही न केही लेख्ने र केही न पढ्ने मैले लत बसाएकी छु’, सीमा भन्छिन्,‘अहिले नलेखी नसक्ने, नपढी नसक्ने अम्मली जस्ती भएकी छु ।’
विराटनगर — कवि–कथाकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ शनिबार सार्वजनिक भएको छ । १७ वर्षको गर्भधारणपछि उनको पहिलो उपन्यास आएको प्रकाशक बुक हिलले विज्ञप्तिमार्फत जनाएको छ । सपना, पीडा, प्रेम र प्रतिरोधको अन्तरयात्राबाट जन्मिएको यो कृति एउटा वैकल्पिक संसारको खोज रहेको उनको दाबी छ ।
२०६६ सालतिर, सीमा जीवनको त्यस्तो मोडमा थिइन्, जहाँ न उपन्यासको योजना थियो न आख्यानको महत्वाकांक्षा । कीर्तिपुरमा अध्ययनरत उनलाई त्यो समय साहित्यसँग गहिरो प्रेम त थियो, तर उपन्यास लेख्ने कुरा कहिल्यै सोचेकी थिइनन् ।
जर्मन प्राविधिक निगम (जीटीजेड)बाट अचानक, फेलोशिपको अवसर आयो । फारम भर्नु पर्ने थियो, तर त्यहाँ आख्यान शीर्षक चाहिएको रहेछ । कविता र लघुकथासम्म मात्रै सीमित रहेकी सीमा अलमलमा परिन् । यही बखत साहित्यकार कृष्ण धरावासीले सल्लाह दिए, ‘फारममा तिमी आख्यान लेख न । तिमी सक्छौ ।’
आख्यान कहिल्यै नलेखेकी उनले संकोच मान्दै फारम भरिन् ।
धरावासीले हाँस्दै उत्तर दिए,‘लेख्न नसक्ने कुरा छैन । तिमी लेख्न सक्छौ ।’
धरावासीको त्यो ‘उकेरा’ले उनलाई आख्यान लेख्न उर्जा मिल्यो । जसले उनको साहित्यिक जीवनले नयाँ मोड लियो । बाध्यताले सुरु भएको लेखनले तीन महिनामै नतिजा दियो । धरानमा बसेर ‘टापुका स्वरहरु’ नामको कथासंग्रहको प्रारूप जीटीजेडलाई बुझाइन् ।
.....
कीर्तिपुरमा पढ्दै गर्दा एक दिन उनले अजिवको सपना देखिन् । त्यही सपनाले जन्मायो उपन्यास ‘महायुग’। कृतिको नामका लागि अरु पनि आधा दर्जन विकल्पहरु थिए । तर, उनलाई महायुग नै जच्यो । सपनामा उनले ढुंगाका रुख, तुषारले ढाकिएका फल, आफूजस्तै अविवाहित युवतीहरु देखेकी थिइन् । आकाश, प्रकृति र मान्छेको स्वरूप नै फरक लाग्ने त्यो सपना उनले अझै भुलेकी छैनन् । त्यो सपनाबारे एक दिन धरावासीलाई सुनाइन् । धरावासीले सल्लाह दिए,‘अब तिमी यो सपनालाई उपन्यास बनाउ ।’
त्यसपछि उनले उपन्यासको प्लटहरु जम्मा गर्न थालिन् । तर, जीवनको यात्रामा अरु धेरै मोड आए । विवाह भयो । आमा बनिन् । त्यो अवधिमा असुरक्षाहरूको छायाँमा बाँचिन्, कहिले निराशा, कहिले संघर्षका दिन गुजारिन् । ‘बिहेअघि म आफूलाई धेरै असुरक्षित महसुस गर्थे’, उनी सम्झन्छिन्, ‘ घर, परिवार र समाजको सोचले मलाई थिचेको थियो । शायद त्यही कारण सपना पनि त्यस्तै आएको थियो ।’
‘महायुग’ तयार पार्न उनलाई करिब १७ वर्ष लाग्यो ।
कहिले कथा बुनिन्, कहिले कविता लेखिन्, कहिले उपकथाहरू फालिन् । ‘एउटा उपकथा हटाउँदा ऐँजेरु झिकेजस्तो हुन्थ्यो,’ उनी भन्छिन् । यही अवधिमा ९ वर्षअघि ‘म स्त्री अर्थात् आईमाई’ लेखिन् ।
उनको तेस्रो कृतिको रुपमा उपन्यास दसैं अघि प्रकाशित हुँदैछ । लामो समयको प्रतिक्षापछि प्रकाशित हुन लागेका कारण उनलाई भित्रैबाट उर्जा थपिएको छ । त्यो एउटा कथाको संगालो मात्रै होइन, उनीभित्र हुर्किएको चार पुस्ताकाका महिलाको कथा हो । हजुरआमा, आमा, छोरी र नातिनीको कथा हो । प्रत्येक पात्र फरक युगमा बाँच्दछ । तर संघर्ष, प्रेम, पीडा र प्रतिरोधको डोरीले उनीहरु कस्सिएका छन् ।
‘महायुग स्त्री अस्तित्व, शक्ति र समाजले थोपरिएका विभेदहरूको गहिरो विमर्श हो’, कोशी प्रदेश लोकसेवा आयोगकी सदस्यले हालैको एक साँझ सुनाइन्,‘लामो समयको पर्खाइ बल्ल समाप्तिको संघारमा आएको छ ।’
यो कृति तयार पार्ने क्रममा उनले धर्मशास्त्रदेखि पूर्वीय दर्शन ठुलठुला ठेली छिचोलिन् । उनलाई लाग्छ, रजस्वला र गर्भवती भएका बखत महिला जीवनकै सबैभन्दा शक्तिशाली अवस्थाबाट गुज्रिएका हुन्छन् । तर, समाजले महिलालाई एकातिर देवीको रूपमा पुज्छ, अर्कातिर हिन मान्छ ।
त्यसैले ‘महायुग’मा महिलालाई शक्तिको केन्द्रमा राखिएको छ । गर्भवती स्त्री पात्रहरू अदृश्य शक्ति निर्माण गर्ने प्राणीका रूपमा प्रस्तुत छन् ।
‘महायुग’को आवरणले पनि चर्चा र विवाद दुवै पाएको छ । यौनी मुद्राको त्यो आवरणलाई कसैले ‘भल्गर’ भनी टिप्पणी गरेका छन् । कसैले पूर्वीय दर्शनमा आधारित शक्तिमुद्राको प्रतिक मानेका छन् । अर्थात् मिश्रित प्रतिक्रिया छ, आवरणबारे । तर, सीमा स्पष्ट पार्छिन्, ‘सस्तो लोकप्रियताका लागि मैले केही गरेको छैन । यो मेरो दृष्टिकोण हो ।
.....
सीमाका लागि लेखन शिल्प मात्रै होइन, जीवन जिउने तरिका हो । कविता लेख्दा उनी दूधे बच्चाले आमाको काख पाउँदा जस्तो न्यानो महसुस गर्छिन् । तर, उपन्यासमा भने संघर्ष फरक छ ।‘कविताले मन रोमाञ्चित बनाउँछ,’ उनी भन्छिन्,‘तर उपन्यासले सोच, वर्ग, विभेद र अस्तित्वको प्रश्न खोतल्छ ।’
त्यही कारण ‘महायुग’ धेरै साहित्यिक कृतिहरुमा थपिएको अर्को कृति मात्रै होइन, यो सामाजिक संरचनालाई चुनौती दिने दस्तावेज पनि हो । उनका लागि लेखन सधैं आवश्यकता हो, अभ्यास हो । उनी भन्छिन्,‘लेख्न नछाड्ने हो । समय जति बचत हुन्छ, लेखनमा खर्चिन्छु ।’ उनी अखबारहरुमा प्राय लेखिरहने सर्जक हुन् । सधैं केही न केही लेख्नु पर्छ भन्ने उनको मान्यता छ । त्यसैले लेख्न नभ्याएको दिन सामाजिक सञ्जालमा मात्रै पनि लेखेर सन्तोष मान्छिन् ।
‘दिनहुँ केही न केही लेख्ने र केही न पढ्ने मैले लत बसाएकी छु’, सीमा भन्छिन्,‘अहिले नलेखी नसक्ने, नपढी नसक्ने अम्मली जस्ती भएकी छु ।’
