आमा ! म अस्ताएँ, म बिलाएँ

आफ्नो अधिकारका लागि आवाज उठाउँदा यस्तो के बिराएछु आमा !

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Mother! I fell, I fell

काठमाडौँ —  आमा ! म अस्ताएँ, म बिलाएँमैले भ्रष्टको विरुद्ध आवाज उठाउनु भूल कसरी भएछ

आफ्नो अधिकारका लागि आवाज उठाउँदा यस्तो के बिराएछु आमा !

माफ गर्नु आमा ! म त अस्ताएँ

आमा तिमीले सहनु अब तिम्रो कोख रित्तो हुँदा

मैले सहन सकिनँ नेपाल आमाको छातीमा भ्रष्टले रजाइँ गरेको

यो मेरो भूल त थिएन आमा

तर म अस्ताएँ । 

एकै झोलामा तिम्रो खुसी किन्ने सपना र देश हाँसेको हेर्ने सपना सजाएको थिएँ

तर सबै एकैसाथ अस्ताए आमा

सधैं तिम्रो कोमल हात पर्ने छातीमा

आज तातो गोली पर्‍यो आमा

घाँटी सुकेर आयो, पानीको गुहारमै

म अस्ताएँ आमा । 

रगतको आँसुले रोइरहेकी छिन् नेपाल आमा

आमा ! म अस्ताएँ !

साथी सम्झाइदे है मेरी आमालाई

मैले अधिकार मागेको थिएँ

मैले भ्रष्टाचारमुक्त देश मागेको थिएँ

बदलामा गोली दियो भनेर 

हेर्न साथी म त अस्ताएँ । 

म हेरिरहनेछु तारा चाँदनी बनेर 

जरुर हेरिरहनेछु

म अस्ताए पनि मेरो सपना अस्ताउन नदिनू

मेरो छातीलाई न्याय दिलाइदिनू

रगतले भिजेको झन्डा मेरी आमालाई थमाउँदै भन्नु

फूल ओइलायो तारा अस्तायो भनेर

हेर्न साथी म त अस्ताएँ

आमा ! माफ गरिदिनु म अस्ताएँ ।

–लोकेन्द्र जाग्री, ई–कान्तिपुर

कान्तिपुर

Link copied successfully