'शुक्लाम्बरा'माथि विमर्श

रातारात परिवर्तन हुने राजनीतिको नक्कली अनुहार सुधार गर्ने अभियानका क्रममा उपन्यास तयार पारिएको लेखक रोकायाको भनाइ छ ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

Discussion on 'Shuklambra'

काठमाडौँ — आख्यानकार तारा खत्री रोकायाको पहिलो उपन्यास 'शुक्लाम्बरा' माथि राजधानीमा विमर्श गरिएको छ । 

कार्यक्रममा समीक्षक अनिता कोइरालाले 'शुक्लाम्बरा' यथार्थमा आधारित उपन्यास भएको र यसमा सङ्घर्षले जीवनलाई पार तार्नुपर्ने सन्देश प्रस्तुत गरिएको धारणा राखिन् । उपन्यासमा लैङ्गिक विभेदको कथादेखि लिएर सांस्कृतिक द्वन्द्वको विषयसमेत समेटिएको उनको भनाइ थियो । 

समीक्षक भारती न्यौपानेले उपन्यासमा पितृसत्ताले छोपेको खोटाङको समाज चित्रण भएको बताइन् । 'समाजका हरेक ग्रामीण इलाकामा हुर्किएका नारीको कथाबाट 'शुक्लाम्बरा' को जन्म भएको छ,' उनले भनिन्, 'सांस्कृतिक द्वन्द्वको पाटो खोतल्न सकेको भए कृतिको सौन्दर्य अझै थपिने थियो ।'

निबन्धकार युवराज नयाँघरेले कृतिकारलाई शुभकामना दिँदै हुम्लाका चित्र, चरित्र र बाछिटा कृतिमा पोखिएकाले यो सुन्दर बनेको बताए । उनले हुम्लाका अँध्यारा गुजुल्टाभित्र न्याय, समानता र उज्यालोको खोजी गर्न उपन्यासले विशेष भूमिका खेल्ने अभव्यिक्त दिए । 

कृतिकार रोकायाले सङ्घर्षका अनेक मार्ग हिँडी आफूले 'शुक्लाम्बरा' उपन्यास तयार पारेको बताइन् । रातारात परिवर्तन हुने राजनीतिको नक्कली अनुहार सुधार गर्ने अभियानका क्रममा यो उपन्यास तयार पारिएको उनको  भनाइ थियो ।  

'पार्श्वपथ' द्वारा आयोजित विमर्शमा प्रा.डा. हिरण्यलाल ज्ञवाली, लक्ष्मण गाम्नागे, डा. अम्बिका अर्याल, डा. हेम भण्डारी, डीआर राई, गीता रेग्मी, शोभा अधिकारी, जया बुढाथोकी, राजेश खनाल, रेखा ज्ञवाली, नम्रता भण्डारीलगायत साहित्यिक स्रष्टा पनि सामेल थिए ।

कान्तिपुर

Link copied successfully