भदौ ७ गते पाँचथरबाट थालिएको साहित्यिक यात्रामा लेखक श्याम सिंघकले विभिन्न स्थानमा पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै लेखन प्रक्रिया, पात्रहरूको सिर्जना र उपन्यासको प्रेरणास्रोतबारे धारणा राखे ।
What you should know
विराटनगर — भारतका कोइलाखानीमा पसिना बगाउने नेपाली मजदुरहरूको संघर्ष र यथार्थलाई चित्रण गर्ने उपन्यास ‘कोइलाखाद’ पछिल्ला दिनमा पूर्वी नेपालको साहित्यिक बहसको केन्द्र बनेको छ । लेखक श्याम सिंघकको उपस्थितिमा सुरु भएको ‘कोइलाखाद मन्थन’ यात्रा भदौ पहिलो सातादेखि सुरु भई आइतबार सुनसरीको इटहरीमा टुंगिएको छ ।
भदौ ७ गते पाँचथरबाट थालिएको साहित्यिक यात्रामा लेखकले विभिन्न स्थानमा पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै लेखन प्रक्रिया, पात्रहरूको सिर्जना र उपन्यासको प्रेरणास्रोतबारे धारणा राखे ।
इटहरीको कस्तुरी कलेजका विद्यार्थीहरुसँगको प्रत्यक्ष संवादका क्रममा आइतबार लेखक सिंघकले भने,‘उपन्यास लेख्दा मेरो उद्देश्य मनोरञ्जन मात्र होइन, मजदुरको अदृश्य पीडालाई आवाज दिनु थियो ।’
फाल्गुनन्द गाउँपालिकाको आयोजनामा बत्तिसे झरना नजिकै सम्पन्न पहिलो कार्यक्रममा साहित्यकार प्रकाश थाम्सुहाङ, प्रेम ओझा र एलबी नेम्वाङले पुस्तकबारे धारणा प्रस्तुत गर्दै सिमाना पारिको नेपाली कथामा लेखिएको अहिलेसम्मका सशक्त कृति भएका भएको चर्चा गरे । सो अवसरमा हाङयुग अज्ञात, सुन्दर कुरूप, लिला अनमोल, राजकुमार अनिश्चितलगायत एक दर्जन कविहरूले रचना पाठ गरे ।
त्यसपछि भोलिपल्ट इलाम साहित्य संस्कृति कला प्रतिष्ठानको आयोजनामा भव्य कार्यक्रम सम्पन्न भयो । पाँचथर र इलामका कार्यक्रम सकेर तराई झरेका लेखक भदौ ९ मा मोरङको पथरी पुगे । इङघङ मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा सुमन मेवाहाङ र रोहित पराईले लेखकसँग संवाद गरे ।
भदौ १३ मा उर्लाबारीमा नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा साहित्यकार कृष्ण उदासीले उपन्यासको गहिरो विश्लेषण प्रस्तुत गर्दै श्रमिकलाई नायक बनाएर लेखिएको श्रमिकको उत्कृष्ट कथा भनी टिप्पणी गरे । बेलबारी साहित्य विकास समितिको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा पूर्व सांसद तथा लेखक हर्कमान तामाङले पुस्तकबारे धारणा राख्दै भने, ‘कोइलाखादले नेपाली निम्न वर्गीय समाजको यथार्थ चित्रण गर्नुका साथै सीमापारिका नेपाली मजदुरहरूको पीडालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।’
‘कोइलाखाद’लाई सामाजिक यथार्थवादी दृष्टिकोणबाट लेखिएको महत्त्वपूर्ण कृति मानिन्छ । भारतको मेघालयका कोइलाखानीहरूमा पसिना बगाउने नेपाली मजदुरहरूको जीवनयात्रा, संघर्ष, श्रमको शोषण र पहिचानको द्वन्द्व यसमा स्पष्टसँग चित्रण गरिएको छ ।
कार्यक्रमका क्रममा लेखक सिंघकले भने,‘कोइलाखाद कोइलाखानी मात्र होइन, त्यो त सीमापारि बाँचिरहेका हजारौँ नेपालीहरूको अस्तित्वको कथा हो ।’
