यो घटनाभित्रको घटना पनि हो । उपन्यास पढिरहँदा लाग्छ— जीवन मात्र एक्लो छ । यहाँ यस्ता पात्रहरुको कोलाज छ, जो कोही नभएर अनाथ त छन् नै, सबथोक भएर अनाथ बनिरहेका पनि यहीँ छन् ।
What you should know
काठमाडौँ — छवि वैरागी घिमिरेको नयाँ उपन्यास ‘विविशारा’ लोकार्पण गरिएको छ । काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा शनिबार आयोजित विशेष कार्यक्रममा लेखक अमर न्यौपाने, समालोचक अनुपमा रेग्मी, लेखक छवि वैरागी घिमिरेलगायतले पुस्तक लोकार्पण गरे ।
बालमनोविज्ञानमा आधारित रहेर आम भुइँमान्छेको यथार्थमा केन्द्रित रहेको उपन्यासमा सामाजिक विभेददेखि मायाप्रेम र मानिस मात्र नभई अन्य प्राणी पनि कसरी अनाथ बन्न सक्छन् भन्ने विषयवस्तु समेटिएको समालोचक रेग्मीले जनाइन् ।
‘यो पुस्तक यति सुललित किसिमले लेखिएको छ,’ उनले भनिन्, ‘पढ्दै जाँदा पुस्तक छाड्नै मन लाग्दैन, कतिखेर सक्कियो, त्यो पनि पत्तै हुन्न ।’
समाजमा मानिस मात्र नभएर यहाँका प्राणीहरु पनि कसरी अनाथ बन्छन् भन्ने विषयलाई पनि बडो मार्मिक किसिमले प्रस्तुत गरिएको उनले बताइन् । ‘पुस्तक पढिरहँदा म थुप्रै ठाउँमा भावुक बनेकी छु,’ समालोचक रेग्मीले भनिन्, ‘यो पुस्तक तपाईंहरुलाई पढ्न म ढुक्कसाथ सिफारिस गर्न सक्छु ।’
कार्यक्रममा लेखक अमर न्यौपानेले उपन्यास ‘विविशारा’ लेखक छवि वैरागी घिमिरे जस्तै रहेको रोचक टिप्पणी गरे । उपन्यास पढ्दा कतै पनि झिजोलाग्दो नभएको र एकदुई बसाइमै पढिसकिने गरी उत्कृष्ट बनेको उनको भनाइ छ ।
‘उपन्यास विविशाराले मलाई एक किसिमको साहित्यिक स्वाद दियो,’ उनले भने, ‘यसको भाषाशैली र प्रस्तुतिले मलाई असाध्यै छोयो । पुस्तकहरुको संसारमा यसले आफूलाई पृथक् किसिमले उभ्याउने मेरो विश्वास छ ।’
लामो समयको खोज, अनुसन्धान र साधनापछि उपन्यास ‘विविशारा’ प्रकाशनमा ल्याएको लेखक छवि वैरागी घिमिरेले बताए ।
साहित्यकार बाबु त्रिपाठीले पनि पुस्तक पढेपछि समाजमा कति किसिमका अनाथ हुने रहेछन् भनेर सोच्न बाध्य बनाउने बताए । पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।
के छ विविशारामा ?
कुनै–कुनै कथाव्यथा भोग्नेलाई मात्र होइन, देख्ने–सुन्नेलाई पनि सहन गाह्रो हुन्छ । यो नियतिको प्रहारले मरणासन्न बनेको निर्दोष भुइँमान्छेको त्यस्तै कथा हो, जसमाथि नियतिभन्दा ठूलो प्रहार मान्छेबाट हुन्छ । अझ भनौं, दैवीप्रकोप, बालश्रम, यौनशोषण र सामाजिक विभेदको मुक्का खाएर ढल्दा पनि सङ्घर्षको राँको बोकेर हिँडिरहेको हिम्मतिलो विपनको कथा हो ।
संसारमा अलौकिक प्रेम अझै मरेको छैन; विश्वास गर्न सकियो भने त्योभन्दा मजबुत अर्को खुसीको जीवन पनि छ भन्ने विषयलाई उपन्यासले आफ्नो मूल कथ्य बनाएको छ ।
यो घटनाभित्रको घटना पनि हो । उपन्यास पढिरहँदा लाग्छ— जीवन मात्र एक्लो छ । यहाँ यस्ता पात्रहरुको कोलाज छ, जो कोही नभएर अनाथ त छन् नै, सबथोक भएर अनाथ बनिरहेका पनि यहीँ छन् ।
को हुन् छवि वैरागी ?
छवि वैरागी घिमिरे सशक्त छन्दकवि एवम् आख्यानकार हुन् । रेडियो सञ्चारकर्मीका रुपमा एक दशक काम गरिसकेका घिमिरे हाल एक दर्जन हाराहारी साहित्यिक संस्थाको नेतृत्वदायी भूमिकामा छन् ।
साधकका रुपमा समेत परिचित उनका दर्जन हाराहारीमै विभिन्न साहित्यिक कृति प्रकाशित छन् । उनको पछिल्लो कृति किनारीकृत माइली चम्पू खण्डकाव्य चर्चित छ । विविशारा उनको दोस्रो उपन्यास हो ।
