बागलुङदेखि काठमाडौंसम्म चिनाउने पुस्तक ‘बादलमुनि बागलुङ’

लेखक तथा अभियन्ता राधा पौडेलले पुस्तकमाथि टिप्पणी गरिन् । ‘कालीगण्डकीको सेरोफेरोमा बोलिने मौलिक भाषा सिक्न नयाँ पुस्ताले च्याटजिपिटी होइन, यो किताब पढे हुन्छ,’ उनले भनिन्, ‘पुस्तकले आम मान्छेको अभाव र संघर्षको कथा भन्छ । र आम मान्छे सफल कसरी हुन सक्छ भन्न यो किताब पढ्न पर्छ।’

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

Book ”Badal Muni Baglung” from Baglung to Kathmandu

What you should know

काठमाडौँ — उद्यमी एवम् लेखक भीम न्यौपानेको पहिलो संस्मरणात्मक पुस्तक ‘बादलमुनि बागलुङ’ काठमाडौंमा लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा वरिष्ठ चलचित्रकर्मी नीर शाह, लेखक नयनराज पाण्डे, लेखक एलबी क्षेत्री, लेखक एवं अभियन्ता राधा पौडेल, लेखककी आमा बल्लभी न्यौपाने र लेखक भीम न्यौपानेले पुस्तकको संयुक्त लोकार्पण गरे ।

कार्यक्रममा शाहले लेखक भीमलाई पहिलोपटक नेपाल चलचित्र कलाकार संघमा भेटेको सम्झिए । पचासको दशकमा संघको सदस्यता लिन पुगेका युवा भीमको स्मरण गर्दै उनले भने, ‘उद्यमशीलतामा हात हालेपछि त्यसलाई पार लगाउन सक्ने क्षमतावान् व्यक्तिका रुपमा लिन्छु भीमजीलाई ।’

तत्कालीन  राष्ट्रिय मनोविज्ञान, पितृसत्तात्मक सामाजिक मनोविज्ञानसँग जोडिएको गहन पुस्तकका रुपमा ‘बादलमुनि बागलुङ’ आएको उनको भनाइ छ । ‘यो पुस्तकले अनेकन विशेषता बोकेको छ । किताबलाई सिनेम्याटिक दृष्टिकोणबाट पढ्ने गरेको छु । सिनेमा मबाट अलग गरिदिए म, म नै हुँदिनँ । र किताब पढ्दा सिनेमा हेरेजत्तिकै भयो ।’

बागलुङको सेरोफेरोमा मात्रै नभएर सिंगो नेपालको दृश्य आँखामा आउन सक्ने गरी पुस्तक लेखिएको शाहले बताए।

लेखक नयनराज पाण्डेले लेखक भीमको लेखनको सुरुवाती चरणबारे उल्लेख गरे । र शीर्षक छुट्याएर लेख्न सुझाव दिएको घटना उनले सम्झिए । ‘यो किताबबाट म प्रभावित हुनुको कारण आम मान्छेको कथामा पनि साहित्य चेत भयो भने संस्करणात्मक पुस्तक बन्न सक्दो रहेछ भन्ने हो,’ उनले भने, ‘अत्यन्तै मसिनो गरी आफ्ना अनुभूति समेटेर लेखिएको यो पुस्तकको बलियो पक्ष भनेको मौलिकता हो, मिहिन प्रस्तुति हो ।’ 

लेखक तथा अभियन्ता राधा पौडेलले पुस्तकमाथि  टिप्पणी गरिन् । ‘कालीगण्डकीको सेरोफेरोमा बोलिने मौलिक भाषा सिक्न नयाँ पुस्ताले च्याटजिपिटी होइन, यो किताब पढे हुन्छ,’ उनले भनिन्, ‘पुस्तकले आम मान्छेको अभाव र संघर्षको कथा भन्छ । र आम मान्छे सफल कसरी हुन सक्छ भन्न यो किताब पढ्न पर्छ।’

पौडेलले ‘बादलमुनिको बागलुङ’ पढ्नेलाई सामाजिक न्याय र समानताका लागि लड्न बल पुर्याउने पनि दाबी गरिन् । 
पुस्तक मानवीय संवेदनाले भरिएको लेखक एलबी क्षेत्रीले बताए। 

सामान्य मान्छेको आत्मकथा बन्छ या बन्दैन भन्ने प्रश्नले आफूलाई किताब लेख्न हौस्याएको लेखक भीम न्यौपानेको भनाइ छ । कार्यक्रममा उनले पुस्तकको एक अनुच्छेद पढेरसमेत सुनाएको थिए ।  

भीम लेखकका साथै चलचित्र निर्माता पनि हुन् । ‘बाटोमुनिको फूल २’, ‘दोख’, ‘सुनकेशरी’ जस्ता फिल्म निर्माण गरेका उनी अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका छन् ।पुस्तक किताबकिरोले प्रकाशन गरेको हाे । 

कान्तिपुर

Link copied successfully