समालोचक गुरुङ सुशान्तका दुई किताब एकैसाथ बजारमा

यी दुई समालोचनात्मक किताबले साहित्यको समालोचनामाथि गम्भीर विमर्श गरेको छ ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Critic Gurung Sushant's two books on the market simultaneously

What you should know

काठमाडौँ — लामो समयदेखि समीक्षा–निबन्ध लेखिरहेका गुरुङ सुशान्तका दुई समालोचनात्मक किताब ‘सम्यक समालोचना’ र ‘साहित्यको समाजशास्त्र’ एकैसाथ बजारमा आएका छन् । केही महिनाअघि मात्रै ‘इतर समीक्षा’ नामक समीक्षा–सङ्ग्रह सार्वजनिक गरेर चर्चामा रहेका सुशान्तका यी दुई समालोचनात्मक किताबले साहित्यको समालोचनामाथि गम्भीर विमर्श गरेको छ ।

सुशान्तले दैनिक पत्रिकामा लेखिरहेका समीक्षाभन्दा भिन्न आयाम, संरचना र भाषाशैलीमा यी पुस्तक तयार पारेका छन् । ‘सम्यक समालोचना’ भित्र अन्वेषक जनकलाल शर्मा, लेखक शङ्कर लामिछाने, कवि सिद्धिचरण श्रेष्ठ, कवि वासु शशी, कवि कृष्णभूषण बलजस्ता स्रष्टाहरूको जीवनीपरक सेरोफेरोमा लेखिएका लामा–लामा समालोचनात्मक लेख समेटिएका छन्, जसमा ती स्रष्टाबारे उति चर्चामा नआएका सन्दर्भहरू रोचक ढंगमा उजागर गरिएको छ ।

यसै पुस्तकमा कथाकार भवानी भिक्षु, उपन्यासकार विश्वेश्वरप्रसाद कोइराला, मदनमणि दीक्षित, कवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार शारदा सुब्बा र समालोचक कृष्ण गौतमका सिर्जनाहरूमा केन्द्रित रही नारीवादी कोणबाट पनि समालोचना गरिएको छ । पुस्तकको अन्तिममा नेपाली नारी उपन्यासकारहरूको लामै चर्चा गरिएको छ । ‘सम्यक समालोचना’ को परिशिष्ट खण्डमा अन्वेषक जनकलाल शर्माले २०५२ सालमा दिएको चर्चित र विवादित एक अन्तर्वार्ता ‘बोनस’ स्वरूप पाठकले पढ्न पाउनेछन् । यस पुस्तकको नामजस्तै लेखकले सम्यक विश्लेषण गर्ने कोसिस गरेको देखिन्छ । 

‘साहित्यको समाजशास्त्र’ मा लेखक सुशान्तले साहित्यको समाजशास्त्रको सैद्धान्तिक परिचय दिँदै साहित्यकार नारायण ढकालको कथाकेन्द्री अध्ययन गरेका छन् । यस पुस्तकको एक खण्डमा ढकाल र उनको साहित्यबारे पनि चर्चा गरिएको छ ।

खासगरी विश्वविद्यालयीय अनुसन्धान पद्धतिमा आधारित भएर लेखिएको ‘साहित्यको समाजशास्त्र’ को भूमिकामा मानवशास्त्री डा. सुरेश ढकालले लेखेका छन्, ‘झट्ट हेर्दा, शास्त्रीय लागे पनि पाठकलाई यसले साहित्य र विश्लेषणको नयाँ स्वाद दिन सक्छ । साहित्यको समाजशास्त्रका बारेमा ज्यादै सीमित लेखिएकामा गुरुङ सुशान्तले थप इँटा थफ्ने काम गरेका छन् ।’ 

‘सम्यक समालोचना’ को मूल्य ५४९ रपैयाँ रहेको छ भने ‘साहित्यको समाजशास्त्र’ को ४९९ रुपैयाँ रहेको छ । यी दुवै पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully