कार्यक्रममा पुस्तकको परिचर्चा मात्रै भएन, कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिमाथि पनि बहस भयो ।
What you should know
पोखरा — र्यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा गरेको पुस्तक परिचर्चा कार्यक्रममा कर्णालीको बहस भयो । महिनाको अन्तिम शनिबार हुने परिचर्चा कार्यक्रममा माधव चौलागाईंको कृति ‘सपादलक्ष कर्णाली’माथि विमर्श गरिएको हो ।
कार्यक्रममा पुस्तकको परिचर्चा मात्रै भएन, कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिमाथि पनि बहस भयो । कृतिको चर्चा गर्दै परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले कमजोर देखिए पनि बहसका सवालमा दरिलो भएको धारणा राखिन् । ‘भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको जनआकर्षण बढ्दो छ,’ उनले भनिन्, ‘विशेषगरी पहाडे खसभाषीहरूको भाषिक र सांस्कृतिक जरोकिलो जोडिएको खस सभ्यताको मुहान सिँजा उपत्यका रहेको कर्णाली क्षेत्र हरेक नेपालीका लागि पितृभूमि र सांस्कृतिक अवचेतनको आधारशिला हो ।’
बुद्धिजीवी र लेखकको नयाँ पुस्ताले कर्णालीलाई अन्धकारबाट उज्यालोतर्फ ल्याउने कार्यमा आफ्नो सिर्जनशीलता अर्पण गरिरहेको उनको भनाइ थियो । जुम्लामा जन्मेका लेखक माधव चौलागाईंको ‘सपादलक्ष कर्णाली’लाई इतिहास, स्मृति र सम्भावनाको सशक्त दस्तावेजको रूपमा उनले चित्रण गरिन् । तीन खण्डमा विभाजित कृतिलाई उनले ‘अर्ग्यानिक स्वाद’को कृतिका रूपमा व्याख्या गरिन् । कर्णालीप्रति चासो राख्ने पाठकका लागि यो उपयुक्त कृतिका रूपमा सिफारिस गर्दै उनले यो कृति आमजनता, नेता र सरकारलाई समाजप्रति उत्तरदायी बनाउने दस्तावेज भएको विचार राखिन् ।
लेखक माधव चौलागाईंले हरेक क्षेत्रको दुर्गम ठाउँलाई ‘कर्णाली’ भनिदिने चलनप्रति विमति राख्दै कर्णालीको विम्ब फेरिनुपर्ने जिकिर गरे । उनले कर्णाली सम्भावनाहरूको खानी भएको धारणा राखे । कर्णाली भनेको साविकको कर्णाली अञ्चल वा अहिलेको कर्णाली प्रदेश मात्र नभई समग्र कर्णाली सभ्यता भएको बताए । ‘वर्तमान संघीय संरचनामा पनि कर्णालीका नाममा विनियोजित बजेटको दुई तिहाइ हिस्सा कुनै निश्चित जिल्लामा मात्र सीमित हुनु संघीयताको मर्मविपरीत छ,’ उनले भने, ‘त्यसप्रति सबै सचेत हुनुपर्छ ।’ कर्णालीका संस्कृति, भूगोल र भाषासम्बन्धी आफ्ना विचारहरू राख्ने क्रममा कृति जन्मिएको उनको भनाइ थियो ।
कार्यक्रममा साहित्यकार सरुभक्तले आफू कर्णाली जाँदाको अनुभव सुनाउँदै कर्णाली हिजो जस्तो आज नभएको र आजभन्दा भोलिका दिनमा थप विकसित हुँदै जाने अपेक्षा राखे । उनले कर्णालीका विषयमा लेखिएका कृतिहरूको लामो फेहरिस्त तयार पार्न सकिने भए पनि लेख्न सकिने विषय प्रशस्त भएको बताए । ‘सापदलक्ष कर्णाली’ले कर्णालीबारे महत्त्वपूर्ण जानकारी दिने फ्रतिक्रियासमेत दिए ।
कार्यत्रममा मेघनाथ कुँवर, सुरेश रानाभाट, विद्याविमल बराल, डिल्लीप्रसाद ढुंगाना, रेशम गिरी, रोशन तलिगोठ्याल, खिम लामिछाने, डा.रामचन्द्र बराल, भानुभक्त पोखरेललगायतले टिप्पणी गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयमाथि बौद्धिक बहस गर्ने गरेको अध्यक्ष रुपिन्द्र प्रभावीले बताए ।
