सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, फोनिजका अध्यक्ष लोकबहादुर चौधरी (लक्की), खेलकुदमन्त्री तेजुलाल चौधरी, पूर्वराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलगायतले फूलमाला, खदा, दोसल्ला ओढाउँदै सम्मानपत्र र नगदसहित अवार्ड प्रदान गरेका हुन् ।
What you should know
काठमाडौँ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले २६ औं स्थापना दिवसको अवसरमा मंगलबार कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङसहित देशभरका १२ जना पत्रकारलाई फोनिज राष्ट्रिय अवार्ड २०८२ प्रदान गरेको छ ।
संवाददाता गुरुङलाई फोनिज यूके समितिका तर्फबाट सम्मान गरिएको हो । पत्रकारिताको माध्यमबाट नेपालका आदिवासी जनजाति समुदायको इतिहास, भाषा, संस्कार, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण, प्रवर्द्धन र अभिलेखीकरणमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै, साथै आदिवासी जनजातिको पहिचान र अधिकार सुनिश्चित गर्न निर्वाह गरेको सक्रिय भूमिका र समर्पणलाई सम्मान गर्दै ‘फोनिज यूके पत्रकारिता सम्मान–२०२५’ प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
यूके समितिबाट पत्रकार डोल्मा शेर्पालाई पुरस्कृत गरिएको छ । फोनिज मलेसिया समितिबाट पत्रकार सपना थामी र ज्ञानेन्द्र तामाङलाई सम्मान र पुरस्कृत गरिएको छ । पत्रकार पूर्णबहादुर मगरलाई फोनिज बागमती प्रदेश समितिबाट पुरस्कृत गरिएको छ ।
यस्तै, पत्रकार मच्छेदेवी गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान प्रदान गरिएको छ । पत्रकार गजुरधन राई र अमरध्वज लामालाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
राजवंशी भाषाको त्रैमासिक पत्रिका कोचिला सामदलाई फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
पत्रकार सविन प्रियासन, मुनेश लायो मगर र बन्दना दनुवारलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, फोनिजका अध्यक्ष लोकबहादुर चौधरी (लक्की), खेलकुदमन्त्री तेजुलाल चौधरी, पूर्वराज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलगायतले फूलमाला, खदा, दोसल्ला ओढाउँदै सम्मानपत्र र नगदसहित अवार्ड प्रदान गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्रमा समावेशी अभ्यास, समुदायको आवाजलाई मुख्यधारमा ल्याउन, आदिवासी जनजातिको हक, अधिकारका सवालमा फोनिजकर्मीहरु अघि बढ्न सुझाए ।
