पोखरा मियाँपाटनमा वि.सं. १९७५ फागुन १५ गते जन्मिएका लोककवि अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसंगीतमा लागेर रनवन घन्काउँदै हिँडेका थिए । उनका गीति किताबहरू पनि प्रकाशित छन्।
What you should know
काठमाडौँ — अलिमियाँ जहाँ भए पनि, लेख चिठी म सञ्चै छु भनी...
आँखाभरि आँसु पारेर जब हनिफ मियाँले यो गाए, सुन्नेहरु त्यसै भावुक भए । लोककवि अलिमियाँको १९ सौं स्मृति सभामा यसरी सम्झनाका हरफहरु गाउने अनिफ मियाँमा दुरुस्तै अलिमियाको अनुहार, लवाइ र लवजको झल्को थियो । त्यसैले, केहीबेरका लागि हनिफलाई गाएको देख्नेहरुलाई अलिमियाँलाई नै देखेजस्तो भान हुन गयो । तर, उनी अलिमियाँ नै नभए पनि अलिमियाँका पुत्र थिए जसमा जिउडाल मात्रै होइन, भावभंगिमा र कवित्व पनि बिलकुल बाबुको जस्तै थियो जो देख्दा दर्शकहरु अवाक् थिए ।
जीवनका गहिरो सत्यलाई मानिसले बुझ्ने गरी सुललित ढंगले लेख्न र त्यसलाई गाउन सक्ने खुबीका कारण लोककविको उपाधि पाएका पोखराका अलिमियाँका बारेमा पुस्तक लेखेका पत्रकार अमृत भादगाउँले हनिफले दिवंगत कविको जिउँदो प्रतिरुप उतारेको देख्दा चकित परे ।
‘एक क्षणका लागि म त झुक्किएँ,’ उनले भने, ‘उहाँ उभिएर गाउन थालेपछि अलिमियाँ नै आएर गाइरहनु भएको झल्को लाग्दो रहेछ ।’
पत्रकार भादगाउँलेको कलम पाएपछि २०५८ मा छापिएको ‘लोकवि अलिमियाँ’ प्रकाशित भयो । त्यसपछि जीवनको उत्तरार्धतिर मात्रै राष्ट्रिय रुपमा चर्चामा आएका अलिमियाँ अथाह कवित्व शक्तिका बावजुद पनि लामो कालखण्ड गुमनाम भई बाँचेका थिए । तर, जब उनका बारेमा लोकले थाहा पायो, उनी संसारबाट बिदा भइसकेपछि पनि उनको स्मरण भने जनजनले गर्न थाले ।
त्यसैको प्रमाण थियो शनिबार उनको सम्झनामा राजधानीमा मनाइएको १९ औं स्मृति दिवस । लेखक, कवि, समीक्षक र पत्रकारहरुले उनको सम्झनामा पुष्पगुच्छा मात्रै चढाएनन्, अलिमियाँको कवित्व शक्तिका बारेमा चर्चा पनि गरे ।
धेरै प्रकाशक, पत्रकार र लेखकहरु आएर बाबुको कविता मागेर प्रकाशित गरिदिन्छु भनेर लैजाने गरेको र पछि कालान्तरमा तिनले आफ्नै नाममा कृति छपाएर कविको परिचय भिरेको सम्झना गर्दै हनिफले बाबुमाथि भएको अन्याय र उपेक्षाको कथा कहे । पत्रकार भादगाउँलेले अलिमियाँमाथि पुस्तक लेख्दाको अनुभव सुनाए । कवि भोजराज न्यौपानेले अलिमियाँको गीतहरु रेकर्ड गर्ने प्रयास गर्दा उनको स्वास्थ्य कमजोर हुनाले त्यो एक रहरकै रुपमा रहन गएकामा दुःख मनाउ गरे ।
त्यही स्मृति सभामा अलिमियाँका गीतहरु आफ्नो आवाजमा रेकर्ड गराउने इरादा लोकगायिका लोचन भट्टराईले जाहेर गरिन् । तत्कालै अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानले यो वर्षभरि नै भट्टराईलाई लोकविको गीत रेकर्ड गर्नमा आवश्यक सबै चाँजोपाँचो मिलाउने घोषणा गर्यो ।
‘मैले अलिमियाँ बुबाबाट आशीवार्द पाएकी छु, दुःखको कुरा उहाँ जीवितै छँदा उहाँका कुनै गीत गाउन पाइएन’, उनले भनिन्, ‘अब हामी सबै मिलेर उहाँका गीत रेकर्ड गर्नेछौं ।’
पोखरा मियाँपाटनमा वि.सं. १९७५ फागुन १५ गते जन्मिएका लोककवि अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसंगीतमा लागेर रनवन घन्काउँदै हिँडेका थिए । उनका गीति किताबहरू पनि प्रकाशित छन्।
नेपाली लोकसाहित्य उन्नयनमा जीवन समर्पित गरेका लोककवि धार्मिक सहिष्णुताका प्रतिमूर्ति भएको पत्रकार भादगाउँलेले टिप्पणी गर्दै उनी मानवतावादी कवि भएको पनि बताए । उनको २०६३ साउन १८ मा निधन भएको थियो। त्यसपछि उनकै पुत्र हनिफ मियाँको अध्यक्षतामा अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान गठन गरिएको थियो । यसले लोककविको योगदानलाई संसारभर फैलाउन, चिरस्थायी बनाउन र लोकसाहित्य साधकको सम्मान गर्ने काम गर्दै आएको छ ।
स्मृति सभामा सुदूरपश्चिमका सांस्कृतिक अभियन्ता हेमन्त विवशले पनि लोककविको गीत गाएर सुनाएका थिए भने कवि एवम् अङ्ग्रेजी विषयका प्राध्यापक केशव सिग्देलले लोककविका सिर्जनाहरू अन्तर्राष्ट्रियकरण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
