कास्कीका कवि अल्पज्ञानीको कवितासंग्रहमा ४७ कविता संगृहीत छन् ।
What you should know
काठमाडौँ — कवि अल्पज्ञानीद्वारा लिखित कवितासङ्ग्रह 'उज्यालो पर्खिरहेको मानिस' लोकार्पण गरिएको छ ।
काठमाडौँमा आयोजित लोकार्पण कार्यक्रमका साहित्यकार एवम् सञ्चारकर्मी डा. नवराज लम्सालले उज्यालो पर्खिरहेको मानिस पूर्वीय दर्शन र समाजको गहिरो छाप रहेको र यसले कविलाई थप परिष्कृत गरेको बताए । 'कवितामा रहस्य र प्रश्न छन् । अल्पज्ञानीका कवितामा वस्तुगत चेतनामाथि आत्मगत चेतनाको हावी भएको छ,' उनले भने, 'कविले आफ्ना कवितामा प्रश्न छाडी उत्तरको खोजीका लागि पाठकलाई जिम्मेवारी दिएका छन् । वास्तवमा उज्यालो यात्रा व्यक्ति मात्र नभई सिङ्गो सृष्टिकै उज्यालो पर्खाइ हो ।'
कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै समालोचक तथा त्रिविका उपप्राध्यापक डा. अशोक थापाले अल्पज्ञानीका कविताले जीवनको उज्यालो आशा देखाएको र मान्छेको वर्तमानका विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेको बताए । उनले भने, 'अल्पज्ञानीका कवितामा उज्यालोलाई सकारात्मकता र अँध्यारोलाई नकारात्मकताबीचको द्वन्द्वका रूपमा उभ्याएका छन् ।' अर्का समीक्षक उपप्राध्यापक डा. गीता त्रिपाठीले अल्पज्ञानीका कवितामा प्रकृति र समाजको सुन्दर अन्तर्घुलन रहेको बताइन् । 'कविता लेख्नु कष्टप्रद छ । पर्यावरणीय सन्तुलन कविताको सशक्त पक्ष हो । कविताले विपर्यासका बीचमा जीवनको सन्तुलन खोजेको छ,' उनले भनिन् ।
साठीको दशकको उत्तरार्धबाट काव्य यात्रामा लागेको कवि अल्पज्ञानी समकालीन नेपाली कवितामा परिचित नाम हो । कास्कीको बेगनासमा जन्मिएका देवीरमण तिवारी 'अल्पज्ञानी' का नामले नेपाली साहित्यमा कलम चलाउँदै आएका छन् ।
कार्यक्रममा लोकार्पित कवितासङ्ग्रहबाट डा. वसन्त गौतम, सञ्जीव पौडेल, अमृत क्षेत्री र लक्ष्मीदेवी गौडेलले कविता वाचन गरेका थिए भने स्रष्टा परिचय डा. राजेन्द्र चापागाईँ आहातले दिएका थिए । पेज टर्नरद्वारा प्रकाशित प्रस्तुत कविता सङ्ग्रहमा ६ भागमा ४७ कविता सङ्गृहीत छन् ।
