अहिले चित्त नबुझे अधिनायकवाद भन्नेहरूलाई जेल–हतकडी के हो थाहा नहुन सक्छ : प्रधानमन्त्री

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Those who do not understand authoritarianism may not know what jail-handcuffs are: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ बाट चार प्रतिभालाई सम्मानित गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा स्रष्टाहरू नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काइँला) र भुवन ढुंगाना कोइरालालाई जनही एक लाख रुपैयाँ राशिसहित पुरस्कृत गरिएको हो।

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झन्डा बोकेका अघिल्लो पुस्ताका नेताहरूले आफ्नो निहित स्वार्थ नहेरी देशको हितमा जोखिम मोलेर योगदान दिएको उल्लेख गरे। उनले भने, 'अहिले कुनै कुरामा चित्त नबुझे अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भन्ने कुरा त्यो बेला भोग्ने बीपीहरू र हामीलाई थाहा छ। जेल, हतकडी, कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ।'

उनले अघिल्लो पुस्ताका नेताहरूले सङ्घर्षको बाटो देखाएको उल्लेख गर्दै भने, 'राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिस्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन्। ती लडाइँहरूमा बीपी प्रेरणाको मियो बन्नुभएको थियो। अब बीपी कोइराला र पुष्पलालहरू कुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन्।'

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान पुर्‍याएका जननायक बीपी कोइरालाको योगदानलाई चिरकालसम्म कायम राख्न सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत सो पुरस्कारको व्यवस्था गरेको हो। २०७८ सालमा कार्यविधि जारी भएपछि हरेक वर्ष उक्त पुरस्कार वितरण हुँदै आएको छ।

कान्तिपुर

Link copied successfully