'सन्नाटाका सुस्केरा' लिएर आए कवि प्रकाश

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Poet Prakash came with 'Silent Sighs'

काठमाडौँ — प्रकाश सापकोटाको कवितासंग्रह 'सन्नाटाका सुस्केरा' लोकार्पित भएको छ । 

सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकाली लगायतले सापकोटाको संग्रह लोकार्पण गरे ।

कवि अधिकारीले प्रकाशका कवितामा सरलपन देखिएको बताए । 'कविले आफैंले आफ्नोपन खोज्ने र आफैंलाई परिमार्जन गर्नुपर्छ । कविले लेखेको मनस्थितिमा पाठक पुगेन् भने कविता सफल नहुन सक्छ । कवि सरल हुनुपर्छ,' उनले भने ।

प्रकाशका कविता उनकै जस्तो हुनुपर्छ भन्दै साहित्यकार रोदनले सिर्जनामा आफ्नोपन हुनुपर्ने बताए । 'उनमा आफ्नोपन छ । विश्वका अतिविकसित देशमध्येको डेनमार्कलाई कर्मथलो बनाएका प्रकाशले त्यहाँ रहे पनि आफ्नो माटो भुल्न सकेका छैनन् । देश दुखेको छ उनी बेथितिमा दु:खी भएका छन्,' उनले भने ।

संग्रहमाथि चर्चा गर्दै यादव भट्टराईले नेपाली समाजमा भएका हरेक घटनालाई सरल तरिकाले कवितामा समेटेका छन् । उनले प्रकाशका कविता शीर्षकको केन्द्रीयतामा घुमेको बताए । 

अर्का चर्चाकार सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले कविताले पाठकको मन झंक्रित बनाउन सक्ने कविको मन नेपालमै रहेको बताए ।

कवि प्रकाश डेनमार्कमा बस्दै आएका छन् । कवि विश्व सिग्देल, दीपक चौलागाईं,रुपा रिसाल लगायतले लोकार्पित संग्रहका कविता वाचन गरे । संग्रहलाई सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । 

कान्तिपुर

Link copied successfully