कैलाश  मानसरोवरको  यात्रा  समेटिएको  ‘कैलाश कोरा’ 

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

'Kailash Kora' covering the journey of Kailash Mansarovar

What you should know

काठमाडौँ — पछिल्लो समय नेपालबाट र नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जानेहरूको संख्या बढिरहेको छ । कैलाश जान चाहनेहरूक लागि तर, यात्रा कसरी गर्ने, कुन रुट सजिलो र रमाइलो छ जस्ता जिज्ञासा हुनु पनि स्वाभाविक नै हो । ती प्रश्नको एउटै सजिलो र रसिलो जवाफ अब ‘कैलाश कोरा’ पुस्तकमा पढ्न सकिन्छ ।

नियात्राकार राजेन्द्रमान डङ्गोलले लेखेको ‘कैलाश कोरा’ पुस्तक पब्लिकेसन नेपालयले हालै बजारमा ल्याएको छ ।

‘चार ठूला नदी ब्रह्मपुत्र, सतलज, सिन्धु र कर्नालीको उद्गम थलोको यथार्थ शब्द–चित्र मैले ‘कैलाश कोरा’मा समेटेको छु,’ लेखक राजेन्द्रमान डङ्गोल भन्छन्, ‘हिन्दू, बौद्ध, जैन, बोन आदि धर्ममा आस्थावानहरूको प्रमुख पूजनीय गन्तव्य कैलाश मानसरोवरको साङ्गोपाङ्गो वृत्तान्त शब्दमा उतार्ने ध्येयले मैले गत वर्ष दुई साता लामो कैलाश यात्रा गरेको थिएँ, त्यसैको परिणाम ‘कैलाश कोरा’ हो ।’

नेपालबाट सन् १९९२ देखि कैलाश–मानसरोवर यात्राको योजनाबद्ध सञ्चालन गर्ने ज्योति अधिकारी भन्छन्, ‘नारायण वाग्ले, अमृत गुरुङ जस्ता साहित्य, सङ्गीतका सम्मानित अगुवाहरूले उहिल्यै कैलाश यात्रा गरेका थिए । उनीहरूको अनुभवले कैलाशलाई जसरी चम्काएको थियो, ‘कैलाश कोरा’ पुस्तकले त्यसरी नै कैलाश मानसरोवर यात्राको महत्व दर्साउँछ ।’ लेखक राजेन्द्रमानले पुस्तकमा शब्दहरूको सङ्ग्रहमात्र नगरी मन, आत्मा र भावनाका गहिराइ पोखेको अधिकारीको टिप्पणी छ ।  

राजेन्द्रमान डङ्गोल नियात्रा लेखनमा स्थापित नाम हो । यसअघि उनका यात्रा साहित्यका तीन पुस्तक प्रकाशित छन् । उनले लेखेको ‘कञ्चनजङ्घालाई नियाल्दा’ निबन्ध सरकारी पाठ्यक्रमअन्तर्गत कक्षा नौमा पढाइ हुन्छ । डङ्गोल पद्मश्री साहित्य पुरस्कारमा 'सर्टलिस्ट' भइसकेका लेखकसमेत हुन् । कैलाश यात्रा गर्ने विभिन्न मार्गको नक्सासहित पुस्तकमा ११ परिच्छेद छन् । १ सय ५८ पृष्ठ पुस्तकको मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ । 

कान्तिपुर

Link copied successfully