अस्ट्रेलिया पुगेर स्कन्दले सुनाइन्- कस्ता छन् नेपालका पुस्तकालय ?

स्कन्दले क्याम्पमा बोल्दै धुम्बाराही चिल्ड्रेन्स लाइब्रेरीबारे मात्रै बताइनन्, नेपालका शिक्षामा कस्तो विभेद छ र यसको मारमा को परिरहेका छन् भन्ने कुरा पनि साटिन्

श्रावण ५, २०८२

कान्तिपुर संवाददाता

After reaching Australia, Skanda told - What kind of libraries are there in Nepal?

What you should know

काठमाडौँ — अस्ट्रेलियाका सबै राज्य र प्रदेशबाट सयभन्दा धेरै उच्च माध्यामिक विद्यालयका प्रतिनिधि सिड्नीमा भेला भएका थिए । नेसनल लिडरसिप क्याम्पको यो चारदिने भेलामा नेपालको प्रतिनिधित्व गर्दै थिइन्, स्कन्द स्वाँर ।

नेतृत्वमा हुने खास शक्ति के हो भनेर छलफल गर्ने र यसका लागि आवश्यक सीप र क्षमताको खोजी गरिने क्याम्पमा स्कन्द आफ्नो अनुभव सहितको कथा लिएर पुगेकी थिइन् ।

युवाहरुद्वारा सञ्चालित बर्न ब्राइट नामक संस्थाले आयोजना गरेको यस क्याम्पले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिनिधिका रुपमा नेपाल र इन्डोनेसियाका विद्यार्थी प्रतिनिधिलाई सहभागी गराइएको थियो । यिनै दुई विद्यार्थी प्रतिनिधिमा एक थिइन्, स्कन्द ।

दुई वर्षयता धुम्बाराहीमा खुला पुस्तकालयको अवधारणामा स्कन्द धुम्बराही चिल्ड्रेन्स लाइब्रेरी चलाइरहेकी छन् । उनले क्याम्पमा यस लाइब्रेरीबारे मात्रै बताइनन्, नेपालका शिक्षामा कस्तो विभेद छ र यसको मारमा को परिरहेका छन् भन्ने कुरा पनि साटिन् ।  

१० देखि १२ कक्षामा अध्ययनरत विद्यार्थी सहभागी क्याम्पमा स्कन्दले नेपालमा सरकारी र निजी गरेर दुईखाले शिक्षा समानान्तर रुपमा चलिरहेको र सरकारी स्कुलमा पढने अधिकांश विधार्थी कोर्सबाहिरका किताबमा पहुँच नपुगिरहेको बताइन् । उनले सरकारी स्कुलमा पढ्ने अधिकांश अभिभावक कोर्सबाहिरका किताब किन्नुलाई लग्जरीका रुपमा बुझ्न बाध्य भएको यथार्थ पनि बताइन् ।

अस्ट्रेलियाका सयभन्दा धेरै विद्यार्थीका अघि आफू बस्ने धुम्बाराहीस्थित सरकारी स्कुलमा रहेको पुस्तकालयको उदाहरण साटिन् । भनिन्, 'सरकारी स्कुलमा पुस्तकालय त थियो तर किताब र कुर्सी धुलोले छोपिएका थिए । त्यहाँ कुनै जीवन थिएन ।'

स्कन्दले सातामा एक दिन मात्रै खुल्ने पुस्तकालयमा विद्यार्थीहरु नजाने गरेको बताउँदै त्यहाँ बसेर पढ्न सक्ने खालको वातावरण नभएको अनुभव साट्दै यही घटनापछि आफू सामुदायिक पुस्तकालय खोल्नुपर्छ भन्ने सोचमा पुगेको बताइन् ।

स्कन्दले भाइ सहर्ष र साथीहरुसँग मिलेर दुई वर्षयता धुम्बाराहीमा हरेक शनिबार बालबालिकाका लागि खुला पुस्ताकालय सञ्चालन गर्दै आएकी छन् ।अहिलेको डिजिटल लतबाट बालबालिकालाई पुस्तकमा ध्यान केन्द्रित गर्न र पठन संस्कृतिलाई बढाउन सामुदायिक पुस्तकालयको अवधारणामा काम गरिरहेकी स्कन्दले ‘रिड’ अर्थात् पढ, ‘एक्सचेन्ज’ अर्थात् साटासाट गर, ‘बरो’ अर्थात् उधारोमा लैजाऊ र ‘डोनेट’ दान गर भन्ने स्लोगन बनाएर आफूले कसरी काम गरिरहेको छु भन्ने अनुभव अस्ट्रेलियन विद्यार्थीमाझ साटिन् ।

स्कन्दले धुम्बाराही चिल्ड्रेन्स लाइब्रेरीमा हरेक साता कम्तीमा ४० विद्यार्थी पढ्न आउने र यो संख्या बढिरहेको बताउँदै आफूहरुले पुस्तकालयसँगै चित्रकला, कथा सुनाउने, खेल्दै रमाउँदै गर्न म्युजिकल चेयर्सजस्ता खेलमार्फत बालबालिकालाई एकापसमा नजिक्याउने प्रयास जारी राखेको बताइन् ।

नेसनल लिडरसिप क्याम्पको अनुभव सँगालेकी उनले भनिन्, 'तपाईंको योजना कति ठूलो छ भन्ने भन्दा पनि त्यसले कतिजनालाई व्यक्तिगत रुपमा कस्तो प्रभाव पार्छ भन्ने कुरा आफूले बताउने अवसर पाएँ ।'

उनले अन्तर्राष्ट्रिय विद्यार्थीका अनुभव र कि-नोट स्पिकरका कुराबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँदै भनिन्, 'नेतृत्वमा के कस्ता गुण हुनुपर्ने रहेछ र किन नेतृत्वमा रहेको मान्छे उदार, खुला र स्मार्ट हुनुपर्छ भन्ने कुरा पनि जान्न र सिक्न पाएँ ।'

कान्तिपुर

Link copied successfully