What you should know
विराटनगर — उद्यमशिलतासम्बन्धी विचार र व्यवहारलाई सरल ढंगले बुझाउने पुस्तक ‘उद्यमशिलताः एक परिचय’ नेपाली पाठकसमक्ष आएको छ । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त पुस्तक विमोचन गरिएको हो ।
इमन बट्लर बेलायतका प्रख्यात लेखक तथा अर्थशास्त्री हुन् । सन् २०२० अक्टोबरमा प्रकाशित ‘एन इन्ट्रडक्सन टु इन्टरप्रेनरसिप’ पुस्तकलाई विराटनगरका युवा पत्रकार निशान्त ढुंगानाले अनुवाद गरेका हुन् । यो पुस्तकमा उद्यमशिलताको आधार, विकासको अवस्था र त्यसले ल्याउने सामाजिक–आर्थिक फाइदाहरूलाई सहज भाषामा विश्लेषण गरिएको छ ।
‘विकल्प एन अल्टरनेटिभ’ नामक संस्थाको आयोजनामा प्यानल डिस्कसनसमेत आयोजना गरिएको थियो । वसन्त अधिकारीले सहजीकरण गरेको प्यानलमा उद्यमी र उद्यमशिलताबारे चर्चा गरिएको थियो ।
पुस्तकबारे प्रतिक्रिया दिँदै रास्वपा सांसद मनिष झाले भने, ‘उद्यमशिलता जस्तो जटिल विषयलाई पुस्तकले निकै सहज तरिकाले बुझाएको छ । नयाँ पुस्ताका लागि यो निकै उपयोगी सामग्री हो ।’
कोशी प्रदेश सांसद मीना श्रेष्ठले उद्यमशिलतासम्बन्धी यस्ता पुस्तकले युवा पुस्तामा सकारात्मक ऊर्जा भर्ने बताइन् । ‘सैद्धान्तिक मात्र होइन, व्यवहारमा पनि लाग्न प्रेरणा दिने खालको सामग्री हो यो,’ उनले भनिन् ।पुस्तकले विशेषगरी नयाँ सोचका साथ केही गर्न चाहने उद्यमीहरूका लागि आधारभूत मार्गदर्शन प्रदान गर्ने युवा उद्यमी प्रतीक राउतको भनाइ छ ।
प्रकाशक वी रिडका प्रमुख राजीवधर जोशीले नेपाली समाजमा उद्यमशिलताको चेतना अझै पनि सीमित रहेको र यस्ता पुस्तकहरूले त्यस किसिमका चेतना विस्तारमा योगदान दिने बताए । अर्थविद् डा. भेषबहादुर धमलाले उद्यमशिलताको सैद्धान्तिक पक्षदेखि व्यावहारिक दृष्टिकोणसम्म पुस्तकमा समेटिएको बताउँदै भने, ‘उद्यमशिलता के हो? किन आवश्यक छ? भन्ने प्रश्नहरूको सरल र तार्किक उत्तर यस पुस्तकमा भेट्न सकिन्छ ।’
अनुवादक ढुंगानाले अनुवादमार्फत मूल लेखकको सन्देशलाई नेपाली सन्दर्भमा झनै नजिक ल्याउने प्रयास गरेका छन् ।
