पर्सा — भानुजयन्तीका अवसरमा स्रष्टाहरू सम्मानित भएका छन् । नारायणी वाङ्गमय प्रतिष्ठानले आयोजना गरेको समारोहमा साहित्य र पत्रकारितातर्फ जगदीश शर्मा सम्मानित भए । शर्मालाई वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मानित गरे ।
त्यसैगरी, कृति सम्मानबाट साहित्यकारद्वय गणेशप्रसाद लाठ र रामप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो । उनीहरुलाई जनही १२ हजार ५ सय रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा आइतबार वीरगन्जमा पनि विविध कार्यक्रम भइरहेका छन् । वीरगन्ज बसपार्कस्थित भानु चोकमा रहेको आदिकविको प्रतिमामा प्रमुख सिंह, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र लगायतले माल्यार्पण गरेका थिए ।
