विराटनगर — नेपाली साहित्य र संगीतको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका सिक्किमका प्रतिष्ठित सर्जक सानु लामाको भारतको सिलिगुडीमा निधन भएको छ ।
८५ वर्षीय लामाको शनिबार बिहान उपचारका क्रममा निधन भएको हो । केही दिनअघि पानीमा भिजेर अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सन् १९३९ जुन १५ मा सिक्किममा जन्मिएका लामाको खास नाम गडुलसिंह लामा हो । तर, साहित्यमा भने उनी सानु लामाको रुपमा परिचित थिए ।
भारतीय नेपाली साहित्यका चर्चित कथाकार, कवि र अनुवादक उनी पेसाले इन्जिनियर थिए । उनका तीनवटा कथा संग्रह प्रकाशित छन्, कथा संपद (१९७१), जोगिका (१९८१) र मृगतृष्णा (१९९३) । उनका कृतिहरू अंग्रेजी, हिन्दी, उर्दू, असमिया र उडिया भाषामा अनुवाद भइसकेका छन् ।
मृगतृष्णा कथाबाट उनले सन् १९९३ मा साहित्य अकादेमी पुरस्कार पाएका थिए । उनको आत्मकथात्मक उपन्यास ‘हिमालचुली मुन्तिर’, यात्रावृत्तान्त ‘आँगन पारितिर’, कवितासंग्रह ‘जहाँ बग्छ तिस्ता र रंगीत’, तथा धार्मिक अनुवाद कृति ‘भगवान बुद्ध : जीवन र दर्शन’ र ‘गुरु पद्मसम्भव’ प्रकाशित छन् ।
सिक्किम भानु पुरस्कार, डा. शोवाकान्ति थेगिम स्मृति पुरस्कार र मदन व्याखानमाला पुरस्कार जस्ता सम्मानले पनि विभूषित उनलाई सन् २००५ मा भारतीय सरकारले साहित्यिक योगदानको कदरस्वरूप देशको चौथो ठूलो नागरिक सम्मान पद्मश्री प्रदान गरेको थियो ।
‘बालापनको आँगन त्यागेर...’ जस्तो लोकप्रिय गीतका रचनाकार लामा सिक्किम, दार्जिलिङ, डुवर्स, असमलगायत क्षेत्रका नेपाली भाषी समुदायमा अत्यन्त सम्मानित स्रष्टा थिए ।
शब्द, स्वर र भावनालाई कलात्मक ढंगले प्रस्तुत गर्न सिपालु लामा आफ्ना रचनामार्फत नेपाली जनजीवनका संवेदना उजागर गर्न माहिर थिए ।
सयौं कथामार्फत नेपाली साहित्यको भण्डार समृद्ध बनाउने लामाको निधनले नेपाली साहित्यमा अपुरणीय क्षति भएको सिलिगुडीका साहित्यकार सुकराज दियालीले बताए । भने, ‘जीवनभर कलम र मञ्चमार्फत नेपाली चेतना र पहिचानको आवाज बन्नुभएका लामा अब स्मृतिमा मात्रै रहनुभयो ।’
