रोल्पामा ३०औँ राष्ट्रिय (एसियास्तरीय) बालसाहित्य सम्मेलन हुने

असार २०, २०८२

कान्तिपुर संवाददाता

30th National (Asia Level) Children's Literature Conference to be held at Rolpa

काठमाडौँ — नेपाल बालसाहित्य समाजको आयोजनामा आगामी मङ्सिर १८ र १९ गते रोल्पाको सदरमुकाम लिबाङमा ३०औँ राष्ट्रिय (एसियास्तरीय) बालसाहित्य सम्मेलन आयोजना हुने भएको छ ।

यस पटकको सम्मेलन एसियास्तरमै पहिलोपटक आयोजना हुन लागेको र जसमा नेपालसहित एसियाका ७ देशका प्रतिनिधिको सहभागिता रहने बताइएको छ । सम्मेलनको तयारीका लागि स्थानीय मूल आयोजक समिति गठन भई आवश्यक व्यवस्थापनका कामहरू अघि बढाइएको स्थानीय मूल आयोजक समितिका संयोजक डीबी टुहुरोले जनाएका छन् । 

समाजका अध्यक्ष विजयराज आचार्य लिबाङ पुगेर गत सोमबार स्थानीय आयोजसहित पत्रकार सम्मेलन गरी सम्मेलनको पोस्टर सार्वजनिक गरेका थिए । स्थानीय संयोजक डिबी टुहुरोले प्रेस वक्तव्य जारी गरी सम्मेलनबारे प्रकाश पारेका थिए । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारको विशेष उपस्थिति रहेको थियो ।

30th National (Asia Level) Children's Literature Conference to be held at Rolpa

कार्यक्रमको औपचारिक उद्घाटन मङ्सिर १८ गते प्रभातफेरीसहित सुरु हुनेछ । उद्घाटन समारोहमा नयाँ बालपुस्तक लोकार्पण, पुस्तक प्रदर्शनी, नृत्य तथा झाँकी प्रस्तुति, शुभकामना मन्तव्य लगायतका कार्यक्रमहरू समावेश हुनेछन् । सम्मेलन अवधिभर बालबालिकाले कथा, कविता, चित्रकला, अभिनय, हस्तलिपि आदिमा सहभागिता जनाउने कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

मङ्सिर १६ र १७ गते भने सम्मेलनअन्तर्गत विभिन्न साहित्यिक कार्यशालाहरू—जसमा कथा, कविता, निबन्ध लेखनदेखि चित्रकला र नृत्य प्रशिक्षणसम्म—आयोजना गरिनेछ । सहभागीबाट सुझाव, प्रतिक्रिया तथा 'रोल्पा घोषणापत्र' जारी गरी सम्मेलनको समापन मङ्सिर १९ गते गरिने स्थानीय संयोजक डिबी टुहुरोले बताएका छन् ।

सम्मेलनको प्रमुख अतिथिका रूपमा संघीय सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सहमति जनाइसकेका छन् । अन्य अतिथिहरूको नाम क्रमशः सार्वजनिक गरिने जनाइएको छ ।

नेपाल बालसाहित्य समाजले देशैभर बालबालिका र किशोरकिशोरीको सिर्जनशीलता, लेखनकला, पठन संस्कृति तथा साहित्यिक अभिरुचिको विकासका लागि सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनको प्रमुख उद्देश्य बालबालिका र किशोरकिशोरीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नु, बालसाहित्यप्रति अभिभावक, शिक्षक तथा विद्यार्थीमा रुचि र चेतना विकास गर्नु, पुस्तकालय व्यवस्थापन तथा बालपुस्तक प्रकाशनप्रति अभिप्रेरणा दिनु रहेको आयोजक समितिले जनाएको छ । रोल्पाको साहित्यमैत्री इतिहासमा एउटा कोशेढुंगा बन्ने अपेक्षा गरिएको यस सम्मेलनले जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउने आयोजकहरूको विश्वास छ ।

कान्तिपुर संवाददाता

Link copied successfully