चितवन — भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले 'महानगर वाङ्मय कोश' सार्वजनिक गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाका मेयर तथा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति रेनु दाहालले कोश विमोचन गरेकी छन् ।
साहित्यकार तथा लेखक, कलाकार, चित्रकार, मूर्तिकार लगायतका व्यक्तित्वको संक्षिप्त विवरण उक्त कोशमा रहेको प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले बताए । कोशमा ५१३ जना सर्जकहरूको विवरण रहेको प्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाले जानकारी दिए । महानगरका मात्रै नभएर चितवनभरकै व्यक्तित्वलाई कोशमा समेट्न खोजेको उनले बताए ।
भरतपुर महानगरका ३९७ जना, रत्ननगरका ५८ जना, खैरहनीका १७ जना, कालिकाका १३ जना, इच्छाकामना गाउँपालिकाका ११ जना, राप्ती नगरपालिकाका नौ र माडी नगरपालिकाका आठजना सर्जकहरूको परिचय लगायतका विवरण कोशमा समेटेको थपलियाले बताए ।
सोही कार्यक्रममा महानगर साहित्य दर्पण भाग ४ पनि विमोचन भएको छ ।
