ऋषिराम धमलाको उपन्यास ‘क्यारिन’ लोकार्पण

असार ८, २०८२

कान्तिपुर संवाददाता

Rishiram Dhamala's novel 'Carin' launched

काठमाडौँ — लेखक ऋषिराम धमलाको नयाँ उपन्यास ‘क्यारिन’ लोकार्पण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्राज्ञ अमर न्यौपाने, निबन्धकार तथा पत्रकार दीपक सापकोटा, अभिनेत्री तथा निर्माता केकी अधिकारी, समीक्षक राजकुमार बानियाँ र कवि तथा आख्यानकार हेम प्रभासले पुस्तक लोकार्पण गरेका थिए । 

प्राज्ञ अमर न्यौपानेले पुस्तकको भाषा–प्रस्तुतिको तारिफ गरे । ‘प्रेमील उपन्यासको सुन्दर परिवेशले किताबलाई सुन्दर र पठनीय बनाएको छ,’ उनले भने । 

दीपक सापकोटाले उपन्यास जेन–जीहरूका लागि लेखिएको बताए । ‘सम्बन्ध, प्रेम र प्राप्ति उपन्यासको असली कन्टेन्ट हो । पुस्तान्तरण, बदलिँदो समाजको चित्र–चरित्र, विदेशको नेपाली समाजमाथि लेखिएको आख्यानको वाचनशैली मौलिक छ,’ सापकोटाले भने, ‘जीवन, जगत र सम्बन्धहरूमाथि किताबले विमर्श गरिरहन्छ ।’

Rishiram Dhamala's novel 'Carin' launchedअभिनेत्री केकी अधिकारीले उपन्यास सिनेमाजस्तै भएको बताइन् । ‘उपन्यास मैले एकै बसाइमा पढेर सकेँ । उपन्यास पढ्दा फिल्म हेरेजस्तो रोमान्चित पनि भएँ’, उनले भनिन्, ‘उपन्यास पहिलो पटक नेपाली साहित्य पढ्न इच्छुक पाठकका लागि प्रवेशविन्दु हुनसक्छ ।’  

राजकुमार बानियाँले उपन्यासले युवापुस्तालाई मात्रै नभइ सबै पाठकलाई बाँध्न सक्ने बताए । ‘किताब पठनयोग्य छ । यसरी युवापुस्ता केन्द्रित उपन्यास आउनु  सकारात्मक सन्देश पनि हो,’ उनले भने । 

हेम प्रभासले सिलसिलेवार घटनाक्रमले किताब सुन्दर बनेको बताए । ‘प्रेम र जीवनलाई सुन्दर शैलीमा प्रकट गरिएको यो आख्यानको चर्चा पछिसम्म पनि भइरहनेछ,’ उनले भने ।

शिखा बुक्सले प्रकाशित गरेको पुस्तकको मूल्य ५९५ रुपैयाँ रहेको छ ।

कान्तिपुर

Link copied successfully