रेनुका भट्टको कवितासंग्रह ‘प्रेमी पहाड’ प्रकाशित

असार ३, २०८२

कान्तिपुर संवाददाता

Renuka Bhatt's poetry collection 'Premi Pahad' published

काठमाडौँ — कवि रेनुका भट्टको नयाँ कवितासंग्रह ‘प्रेमी पहाड’ प्रकाशित भएको छ । ३१ कविता संग्रृहीत किताबले मान्छे बाँचिरहेको समय र उसले भोगिरहेको संकटबारे विमर्श गर्छ । देश, राजनीति, क्रान्ति, अपेक्षा, सपना, प्रेम, आशा, निराशा र जीवन भोगाई भट्टका कविताका विषय हुन् ।

कवि श्यामलले रेनुकालाई ‘प्रश्नहरूकी कवि’ भनेका छन् । ‘ती प्रश्नहरू पढेर पाठकले त्यसको उत्तर पनि तिनै प्रश्नहरूमा खोज्छन्, रेनुका श्रमको सम्मान गर्ने जनसाधारणका उदात्त भावनाकी कवि हुन्,’ श्यामल भन्छन् ।

‘शहर र मान्छे’, ‘पाठशाला’, प्रेमी पहाड’, ‘हिउँ पग्लिएपछि’, ‘हिउँ पग्लिनुअघि’ जस्ता कविताले प्रेम, वियोग, प्रकृति र मान्छेको दुःख सम्झाउँछ । ‘प्रेमी पहाड’ बारे रमेश क्षितिज भन्छन्, ‘सरल र सरस भाषामा मानवीय संवेदनाका जटिलतालाई प्रस्तुत गर्ने यो किताबले अहिलेको समयलाई शब्दचित्रमा उतार्न सक्षम छ ।’

कवि विक्रम सुब्बा ‘रेनुकाको कवितामा उनी बाँचेको समाज र दुनियाँको रङ’ भएको बताउँछन् । ‘यी कविता यस समयका मान्छेहरूको वियोगान्त गीत हो,’ कवि चन्द्रवीर तुम्बापो भन्छन्, ‘रेनुका यस समयको शक्तिशाली कवि हुन् ।’

कवि भट्ट भन्छिन्, ‘मेरा लागि कवितालाई एउटा परिभाषामा व्यक्त गर्न गाह्रो छ, तर कविता जीवनजस्तै सुन्दर छ ।’ नुवाकोटकी कवि रेनुका भट्ट दुई दशकदेखि कविता–लेखनमा सक्रिय छिन् । शिखा बुक्सले प्रकाशन गरेको कविता–संग्रह ‘प्रेमी पहाड’ को मूल्य रु. २५० रहेको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully