गौरीटाप एक सयभन्दा बढी टेन्टले सजिएको थियो । हिमालबाट सिधै आउने चिसो हावाको आनन्द अनि आलु, गुन्द्रुक र कोदोको रक्सीसँगै क्याम्प फायरले यात्राको थकान मेटिएको थियो ।
गत वैशाखको २६ गते बिहान । ६ नबज्दै नक्साल गैरीधारामा भिड जम्मा हुन थालिसकेको थियो । जहाँ थिए- महानायक राजेश हमालदेखि गायिक आनिछोइङ डोल्पमा अनि क्याप्टेन विजय लामासम्म ।
अन्य सहभागीहरु उनीहरुसँग सेल्फी लिँदै भलाकुसारीमा व्यस्त देखिन्थे । दुई सयभन्दा बढीको यात्रा भएकाले आयोजकलाई पाहुना रुजु गर्नमै भ्याइनभ्याई थियो ।
कार्यक्रम थियो- गैरीधारादेखि सोलुखुम्बुको गौरीटापसम्मको यात्रा ।
यात्रामा साथ दिनका लागि बीवाईडीका ५० भन्दा बढी विद्युतीय सवारी तयारी अवस्थामा थिए । सबै जम्मा भइसकेपछि ७ बजेपछि यात्रा सुरु भयो । बीवाईडीका लहरै गाडी एक साथ गुड्दा माहोल रोमाञ्चक बन्यो ।
गैरीधाराबाट सुरु भएको यात्रा बनेपा हुँदै सिन्धुलीको नागबेली बाटो भएर अगाडि बढ्यो । दिउँसोको खानाका लागि हामी मुलकोट रोकियौं । गत वर्षको बाढीले तहसनहस बनाएको यहाँको रिसोर्ट फेरि पुरानै लयमा फर्किएको रहेछ । मुलकोटको गर्मी कम गर्न मिठो लस्सीले काम गर्यो । चर्को गर्मी भए पनि आरामदायी सवारीमा संगीत सुन्दै हाम्रो यात्रा त्यहाँबाट अगाडि बढ्यो ।
घुर्मी पुगेपछि उकालो यात्रा सुरु भयो । सोलुखुम्बुको पात्ताले नपुग्दै ठूलो संख्यामा उपस्थित स्थानीयले बाजागाजा र खादाले आत्मीय स्वागत गरे । संक्षिप्त स्वागत कार्यक्रममा भए पनि सेल, गुन्द्रुकको अचार, मोहीलगायतका मिठा परिकारको स्वाद लिएपछि गौरीटापका लागि बाटो ततायौं । बाटोमा विभिन्न कार्यक्रमले गर्दा गौरीटाप पुग्दा झमक्क रात परिसकेको थियो ।
गौरीटाप एक सयभन्दा बढी टेन्टले सजिएको थियो । हिमालबाट सिधै आउने चिसो सिरसिर हावाको आनन्द लिँदै आलु, गुन्द्रुक र कोदोको रक्सीसँगै क्याम्प फायर आयोजना गरिएको रहेछ । सबैजना एकापसमा गफिँदै गर्दा रात बितेको पत्तै भएन ।
भोलिपल्ट बिहान सूर्योदयसँगै सगरमाथा लगायतका ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल हेर्दै रमायौं सम्झनाका लागि कैयौं तस्बिर पनि लियौं । डाँडामा रहेका माता गौरी, शिव र पञ्चायन मन्दिर दर्शन गर्यौं । त्यसबारे लौरेश्वर बाबाले हामीलाई धेरै जानकारी दिए ।
गौरीटापमा छोटो औपचारिक कार्यक्रमपछि हामी ओखलढुंगाको रुम्जाटार झर्यौं । गौरीटापको चिसो हावापानीबाट एक्कासि रुम्जाटारको उखरमाउलो गर्मीमा आइपुग्दा एकैछिन त सबैलाई अत्यायो । तर रुम्जाटारको प्रवेशद्वारमा स्वागतका लागि उपस्थित एक हजारभन्दा बढी स्थानीयको स्वागतले गर्मी महसुस हुन दिएन । स्वागतका लागि लाइनबद्ध स्थानीयले हामीलाई खादा, फूल, मालाका साथै लाखे नृत्यले भव्य स्वागत गरे । हामी त्यहाँको बौद्ध गुम्बा पुग्यौ । दर्शन गरेपछि स्वागतमा खाजाको व्यवस्था गरिएको रहेछ ।
रुम्जाटारको खेलमैदानमा त्यस दिन साँझ भव्य सांगीतिक कार्यक्रम आयोजना भयो । राष्ट्रिय कलाकारले हजारौं रुम्जाटारवासीका अगाडि भव्य प्रस्तुति दिए । धेरैले मनपर्ने कलाकारहरुसाग तस्बिर लिए । उनीहरुका तस्बिर र भिडियो खिचे भने तालीले भव्य स्वागत पनि गरे ।
रात छिप्पिँदै गर्दा सांगीतिक कार्यक्रम सकियो । सोही दिन केही होटल त केही होमस्टेमा बसियो । साथै भोलिपल्ट बिहान विद्युतीय सवारीमार्फत नै हामी काठमाडौं फर्कियौं ।
