खुपेन सुनुवारको कवितासंग्रह 'ल्यान्डस्केपमा झुन्डिएको मौनता' सार्वजनिक

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Khupen Sunuwar's collection of poems 'Hanging silence in the landscape' is published

काठमाडौँ — खुपेन सुनुवारको कवितासंग्रह 'ल्यान्डस्केपमा झुन्डिएको मौनता' लण्डनको सडबरीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । लेखकहरू गोपी सापकोटा, सुमाया राई, काङमाङ नरेश राई , केदार संकेत, निर्भीकजंग रायमाझी तथा कवि खुपेनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै लेखक गोपी सापकोटाले कवि खुपेनले आफ्नो जीवन अनुभव र बाँचेको परिवेशलाई सरल भाषासहित सुन्दर चित्रण गर्न सफल रहेको बताए ।

अर्का वक्ता काङमाङ नरेश राईले खुपेनको एउटै कवितामा इतिहासदेखि आख्यानसम्म र भौतिकतादेखि दर्शनशास्त्रसम्म अटाएको उल्लेख गरे । लेखक सुमाया राईले खुपेनको कविताहरूले मानवीय अस्तित्वको खोज गर्दै जीवनको सार्थकतामाथि जोड दिएको धारणा राखिन् ।

'माया पब्लिकेशन' काठमाडौंले प्रकाशित गरेको कवितासंग्रह ६८ थान कविताहरू समेटिएका छन् । रामेछाप मूल घर भएका कवि खुपेन एक दशकदेखि युके बस्दै आएका छन् । यसअघि उनको गीति–कविता 'ब्लु–नोट' प्रकाशित  छ ।

'नेपाली बुक्स युके' तथा 'साहित्य–संगालो युके'को संयुक्त आयोजनामा भएको कार्यक्रममा यूकेमा रहेका नेपाली साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कान्तिपुर

Link copied successfully