धुम्बाराही पुस्तकालयमा बाल महोत्सव

जेष्ठ २५, २०८२

अभिषेक अधिकारी

Children's Festival at Dhumbarahi Library

काठमाडौँ — धुम्बाराही बाल पुस्तकालयले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवमा बाल महोत्सव आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा पुस्तकालयले विभिन्न प्रतियोगिता आयोजना गरेको थियो । 

वादविवाद प्रतियोगितामा छात्रतर्फ त्रिलोक पौडेल र छात्रातर्फ दिप्सना खरेल विजेता भए । यस्तै गृहकार्य राख्ने कि नराख्ने, बालबालिकाका लागि भिडियो गेमको प्रभाव, पैसाले खुसी किन्न सकिन्छ ? जस्ता विषयमा बालबालिकाले आ–आफ्नो धारणा राखेका थिए । प्रतियोगिताका विजेतालाई एमालेका उपमहासचिव विष्णु रिमालले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रम अवलोकन गर्न आएकी नतिजा निरौलाले बालबालिकाले आफ्नो प्रतिभा देखाउने यो राम्रो अवसर रहेको बताइन् । ‘यस्ता कार्यक्रमले हामीलाई बाहिरी अन्तर्क्रिया गर्न मद्दत पुग्छ,’ उनले भनिन् । उपमहासचिव रिमालले सामुदायिक विद्यालय र निजी विद्यालयबीचको दूरी बराबर हुनुपर्ने बताए । ‘आजको सिकाइ केवल पढेर मात्र होइन, प्राविधिक ज्ञानसँगै अगाडि लैजानुपर्छ’, रिमालले भने ।

कार्यक्रमकी आयोजक स्कन्द स्वारले आगामी दिनमा धुम्बाराही स्कुल र धुम्बाराही क्लबसँग सहकार्य गरेर पुस्तकालय खोल्ने बताइन् । प्रविधिको विकाससँगै बालबालिकामा मोबाइल, ट्याब लगायत उपकरणमा बढी ध्यान गएको र त्यसमा क्षमता वृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा ९ वटा स्टल थिए । चित्रकला प्रतियोगिता, बिवाईडी पजल, गाउँखाने कथा, जादु, बिङ्गोलगायतका प्रस्तुति कार्यक्रममा थिए । कार्यक्रममा एक सयभन्दा बढी बालबालिका सहभागी थिए । इम्प्यारियल वर्ल्ड स्कुल, रातो बंगला स्कुल र युलियन्स स्कुलको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सहसंयोजक लायन्स क्लब अफ काठमाडौं थियो ।                - प्रशिक्षार्थी

अभिषेक

Link copied successfully