काठमाडौँ — विश्व वातावरण दिवस(जुन ५)को अवसरमा कोटेश्वर बहुमुखी क्याम्पसमा ‘हरित काव्य गोष्ठी’ सम्पन्न भएको छ । वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक र कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा भएको कार्यक्रममा वातावरणीय चेतना र साहित्यिक सिर्जनाबीचको समन्वय देखिएको थियो ।
कार्यक्रमको उद्घोषण कवि चन्द्रबहादुर लामाले गरेका थिए । विशेष आकर्षणका रूपमा 'भुँइमान्छे कविता विशेष' विशेषाङ्कको लोकार्पण गरिएको थियो, जसमा अघिल्लो माघ महिनामा नालाको ब्रह्मा पार्कमा वाचन गरिएका २४ जना कविहरूका नेपाली कविता र तिनका अङ्ग्रेजी अनुवाद समावेश गरिएका छन् । विशेषाङ्क क्याम्पस प्रमुख प्रकाश पोखरेल, वरिष्ठ कविहरू उषा शेरचन, विष्णुविभु घिमिरे र अविनाश श्रेष्ठले सार्वजनिक गरेका थिए ।
कार्यक्रमको सुरुवातमा कवि विश्व सिग्देलले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य, संरचना र महत्वबारे प्रकाश पारेका थिए ।
मन्तव्यपछि आफ्नै कविता “जङ्गल गइरहेको मान्छेलाई” वाचन गरेर उपस्थित श्रोतालाई स्वागत गरेका थिए। गोष्ठीमा सहभागी कविहरूले वातावरण, जलवायु परिवर्तन, जैविक विविधता, जंगल, नदी, वन्यजन्तु संरक्षण, प्रदूषण, हिमाल र मानिसबीचको सम्बन्धजस्ता विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेका थिए। कविता वाचनमार्फत प्लास्टिक प्रदूषणदेखि चेतनाको विद्रोहसम्मका विविध पक्ष उजागर गरिएका थिए।
कविता वाचन गर्ने स्रष्टाहरूमा विश्व सिग्देल (जङ्गल गइरहेको मान्छेलाई), अविनाश श्रेष्ठ (भोलिको गीत), अभय श्रेष्ठ, दिनेश खरेल (अर्को भूगोल खोजौँ), उषा शेरचन (वातावरण), कृष्ण बाउसे (प्लास्टिकको अनुरोध), विष्णु विभु घिमिरे (धेरैलाई थाहा छैन), समा श्री (सुनकोशी र पहिरो), विमल भौकाजी (इन्द्रकमल), आर. एम. डङ्गोल (एक्लो पृथ्वी), हिमलाल श्रेष्ठ (आकाशबेली), शकुन्तला जोशी (म एउटा वरको रुख), प्रज्वल अधिकारी (हामी र पृथ्वी), दामोदर रेग्मी (दूषित वातावरणको मानवसँग संवाद), छविरमण सिलवाल (समयको घट्ट), केशव सिग्देल (नदी), विजय हितान (मलाई आर्यघाट लगेर नजलाउनू), लक्ष्मी रुम्बा (जङ्गल एक सपना), ध्रुव मधिकर्मी (चेतनाको सङ्घारमा), छायादत्त न्यौपाने (सिमल), भवानी खतिवडा (हिमाल), राधिका कल्पित (कलियुगको गान्धारी), सुरज पराजुली (राम भात खान्छ), राधेश्याम लेकाली (पर्यावरण सन्तुलनको लागि चेतना), राजु झल्लु प्रसाद (वनकविज्यूलाई रुखको रिटायरमेन्टको पत्र), मिमला शर्मा (हरियो धर्तीको काखमा), सेदुनाथ ढकाल (हाम्रो सिम्पानी पँधेरो), प्रेमिला राई (सुनसान छ गाउँ), रमी प्रिया (पिपल), सञ्जय सुमन (चिता), यादेवी ढकाल (गाउँ जाँदा), वैजयन्ती पोखरेल (बिरुवा र मानिस), बाबुकृष्ण कार्की (तिमी र वातावरण दिवस र प्रकृति दिवस), चन्द्रबहादुर लामा (हराउँदै गएको हरियाली) र धीरकुमार श्रेष्ठ (एक हुल जुलूस) रहेका थिए।
कार्यक्रमको मध्यतिर लोकगायक कमलीकान्त भेटवालले सारङ्गीको धुनमा प्रस्तुत पर्या गीतमार्फत वातावरणीय सन्देशलाई लोक संस्कृतिसँग जोड्ने प्रयास गरेका थिए, जसले श्रोताहरूलाई भावनात्मक रूपमा जोड्न सकेको देखिएको थियो।
समापनतर्फ क्याम्पस प्रमुख प्रकाश पोखरेलले यस्ता सृजनात्मक कार्यक्रम आफ्नै क्याम्पसमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै साहित्य र वातावरणको सहकार्यले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा शब्दाङ्कुर मासिकका सम्पादक तथा वर्तमान कविता समूहका सदस्य धीरकुमार श्रेष्ठले आयोजक, सहभागी र दर्शकहरूप्रति आभार व्यक्त गर्दै वातावरणीय चेतनाको यात्रामा साहित्यले सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका थिए।
हरित काव्य गोष्ठी–२०८२ ले साहित्यिक सृजनामार्फत वातावरणीय सन्देशलाई जनचेतनामा रूपान्तरण गर्ने प्रयास गर्दै वातावरण संरक्षणको अभियानमा सशक्त हस्ताक्षर थपेको देखिएको छ।
