धर्मेन्द्रका चार पुस्तक एकसाथ सार्वजनिक

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Dharmendra's four books published simultaneously

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवम् लेखक धर्मेन्द्र नेम्वाङले एकसाथ ४ पुस्तक बजारमा ल्याएका छन् । जसमा ‘कृष्णविक्रम नेम्वाङले हिँडेको क्रान्तिको बाटो’, ‘पिता पुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ तथा ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन् ।

नेम्वाङका पुस्तकहरू कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे, नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, रमेश लिङ्देन र लेखक शंकर तिवारीले विमोचन गरे। आचार्य, घिमिरे, लिङ्देन र तिवारीले ती पुस्तकमाथि समीक्षा गर्दै धारणा समेत राखेका थिए। 

त्यस्तै, साहित्यकार डा.विष्णुविभु घिमिरे, प्रा.डा.कुमार कोइराला र विमला तुम्खेवाले पनि पुस्तकमाथि चर्चा गरेका थिए। लेखक नेम्वाङले आफ्ना किताबको विमोचन गर्न उपन्यास ‘रातो बाघ’ देखि नै छाडे पनि यस पटक सन्जोग परेको बताए ।

‘मैले यो चाहेर भएको होइन । चार वटा कृतिको विमोचन एक सन्जोग मात्र हो’, उनले भने । यीमध्ये दुई वटा (देश बनाउने विधि र हरियो समाजवाद) आफ्नो लेखन र बाँकी (क्रान्तिको बाटो र पिता पुर्खाको कथा) सम्पादन रहेको उनको भनाइ थियो । कृष्णविक्रम नेम्वाङ धर्मेन्द्रका पिता हुन्।

२०१७ सालमा पाँचथरबाट सशस्त्र क्रान्तिको घोषणा गर्ने मध्येका एक नेता कृष्णविक्रम पनि थिए। लामो समय कांग्रेसको राजनीतिमा बिताएका नेम्वाङ इतिहासकार र अनुसन्धानकर्मी समेत थिए । उनको ८२ वर्षको उमेरमा २०८० मंसिर ३ गते निधन भएको थियो। 

कान्तिपुर

Link copied successfully