काठमाडौँ — १२ वर्ष उमेर पुगेका बालबालिका के गर्छन् ? खेल्छन्, रमाउँछन् अनि स्कुल जान्छन्, यस्तै यस्तै । तर १२ वर्षकी प्रदीप्ता बडुले हालैमात्र अंग्रेजीमा लेखिएको ‘डेड अर अलाइभ’ उपन्यास प्रकाशन नै गरिन् ।
उपन्यास लेख्नका लागि प्रदिप्तालाई के कुराले प्रेरित गर्यो त ? उनले केही महिनाअघिको एउटा सम्झना सुनाइन् । त्यसदिन उनी मोबाइलमा पुराना फोटोहरु हेरिरहेकी थिइन् ।
कोरोना महामारी आफू मास्क लगाएर बसेको फोटो देखेपछि उनलाई कोरोनाकालीन समयको सम्झना भयो । कोरोना संक्रमणका कारण मानिसहरु मरिरहेको समाचार पढेको सम्झेर, एकअर्कासँग अलग्गिएर बस्नुपरेको अनि जस्ता घटनाको सम्झनाले उनलाई नरमाइलो महसुस गरायो । लकडाउनका कारण साथीभाइसँग टाढा बस्नुपर्दाको क्षण सम्झेर उनी भावुक बनिन् ।
त्यही बेलादेखि उनले डायरीमा त्यतिबेलाका सम्झनाहरु लेख्न थालिन् । लेख्दै जाँदा उनलाई मन हलुका भएजस्तो भयो । त्यसदिनपछि उनले हरेक दिन डायरीमा मनका भावनाहरु पोख्दै गइन् । उनले लेखेका कुरा बुबा आमालाई सुनाउँदै गइन् । उनीहरुले पनि प्रदिप्तालाई लेख्न प्रेरित गरिरहे । यही लेखाइको यात्राले नै प्रदिप्तालाई उपन्यासकार बनायो । केही दिनअघि उनले यही किताब सार्वजनिक गर्दै बाबुको जन्मदिनमा उपहार दिइन् ।
प्रदिप्तालाई सानैदेखि पत्रिका र किताबहरु पढने रुची थियो । उनको रुचीलाई उनका बुबाआमाले सधैं सघाइरहे । प्रदिप्ताले मानिसका हर कुरा भावनासँग जोडिने बताइन् । आफूले उपन्यासमा पनि यस्तै कुराहरु लेखेको उनले बताइन् । अनि परिवारको साथ र हौसलाले गर्दा नै पुस्तक लेख्न सकेको बताइन् ।
पुस्तक प्रकाशन भएपछि उनलाई साथीभाइ र शिक्षकहरुले पनि राम्रो प्रतिक्रिया दिए । यस्तो प्रतिक्रियाले उनलाई फरक-फरक विषयमा पुस्तक लेख्ने प्रेरणा दिएको बताइन् । भनिन्, ‘म आउँदा दिनहरुमा पनि मेरो लेखलाई निरन्तरता दिन्छु ।’
सानै उमेरमा पनि मिस्ट्री र थ्रिलर पुस्तकहरु पढ्न रुची राख्ने प्रदिप्ता पाठशाला फाउन्डेशन नेपालमा कक्षा ८ मा पढछिन् । भेटनरी डाक्टर रहेकी आमा प्रतिष्ठा र ईन्जिनियर बाबु कैलाश बडुले छोरीको पढने र लेख्ने कामप्रतिको रुची देखेर दंग छन् । आमाले छोरीको साहित्य र लेखनप्रतिको रुचीलाई प्रोत्साहन मिलोस् भनेर पुस्तक निकाल्न प्रेरित गरेको बताए ।
उपन्यासमा प्रदिप्ताले कोरोनाको समयमा एउटै घरमा बसेर पनि मान्छे–मान्छे बिचको दूरी, त्यस समयमा मानिसहरुले झेल्नुपरेको विविध समस्याको कथा बुनेकी छिन् । उनले भनिन्, ‘कोरोनाभन्दा पनि ठूलो समस्या आयो भने हाम्रो समाज कस्तो हुन्थ्यो होला भन्ने कल्पना मैले उपन्यासमा गरेकी छु ।’ उनले पारिवारिक सम्बन्ध कसरी बलियो बनाउने र कसरी सबै मिलेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि आफूले समेटन खोजेको बताइन् ।
२० खण्डमा बाँडिएको यो उपन्यासको आवरणकला अक्रिनले तयार पारेका हुन् । उपन्यास आवरण प्रकाशनले बजारमा ल्याएको हो ।
