गुरुङ सुशान्तको ‘इतर समीक्षा’माथि समीक्षा

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Review on 'Other reviews' by Gurung Sushant

काठमाडौँ — डेढ दशकदेखि कविता, आख्यान, गैरआख्यान, काव्य, फिल्म र नाटकको समीक्षा लेखिरहेका लेखक/समीक्षक गुरुङ सुशान्तको निबन्धात्मक गैरआख्यान ‘इतर समीक्षा’ को बिहीबार लोकार्पण गरिएकोे छ । १८औं गणतन्त्र दिवस पारेर राजधानीको प्रज्ञा प्रतिष्ठानमा किताब लोकार्पण गरिएको हो । कार्यक्रममा वक्ताहरू खगेन्द्र संग्रौला, कुमार नगरकोटी, नवीन सुब्बा, उज्ज्वल प्रसाई र डा. दोभान राईले किताबमाथि टिप्पणी र समीक्षा गरेका थिए । 

कवि शकुन्तला जोशीले सञ्चालन गरेको कार्यक्रममा आख्यानकार कुमार नगरकोटीले जीवन–जगत्‌का दुःख, खुसी र सपना दर्शाउने दुई कविता वाचन गरे । कविता वाचनपछि नगरकोटीले गैरआख्यान, आख्यान, नाटक र काव्यमाथि लेखिएको समीक्षा–किताब ‘इतर समीक्षा’ लाई सदीक्षा र शुभकामना दिए । 

लेखक संग्रौलाले ‘इतर समीक्षा’ समीक्षाको नयाँ आविष्कार भएको बताए । ‘केही समीक्षकले समीक्षा/समालोचनाको बिउ जोगाए पनि त्यो अत्यन्तै कमजोर छ,’ संग्रौलाले भने, ‘लेख्ने कोही नभएका बेला प्रभावकारी/गुणस्तरीय समीक्षा लेख्ने दुस्साहस गर्नु नै यो किताबको महत्वपूर्ण र सुन्दर पक्ष हो ।’

‘दलन’, ‘नुमाफुङ’, ‘गाउँ आएको बाटो’ लगायत टेलिफिल्म/फिल्मका निर्देशक नवीन सुब्बाले ‘इतर समीक्षा’ ले नेपाली ज्ञान निर्माणको क्षेत्रमा विगत एक दशकको नेपाली चित्र र चरित्र देखाएको बताए । ‘पुस्तकमै फिल्म समीक्षा पनि सुरु गरेकामा लेखक सुशान्त धन्यवादका पात्र भएका छन्,’ उनले भने, ‘सिनेमालाई बौद्धिक वृत्तले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन, तर कोसिस यो किताबले पक्कै गरेको छ ।’ सुब्बाले नेपाली समीक्षा लेखनले अभिव्यक्तिको भाषा निर्माण गर्न नसकेका बेला ‘इतर समीक्षा’ एक उपलब्धि भएको पनि बताए । 

समाजशास्त्री एवम् कम्प्युटर वैज्ञानिक दोभान राईले ‘इतर समीक्षा’ मा अधिकांश समीक्षा पहिचानको दृष्टिकोणबाट लेखिएको बताइन् । ‘यो किताबले नेपाली समाजको समीक्षा–लेखनको सग्लो तस्बिर देखाएको छ,’ उनले भनिन् ।

नेपाली साहित्यको अध्ययन–अनुसन्धानका लागि ‘इतर समीक्षा’ अनिवार्य पढ्नुपर्ने किताब भएको बताउँदै लेखक/विश्लेषक उज्ज्वल प्रसाईंले भने, ‘यो किताब नेपाली साहित्यमा समीक्षा विधाको दस्तावेज भएर रहनेछ । किताबले गुणस्तरीय समीक्षाको अभाव पनि पूर्ति गरेको छ र यो सानो सर्वेक्षणका रुपमा प्रकाशित भएको छ ।’ 

लेखक सुशान्तले आफू पुस्तक पढ्ने लोभले समीक्षक बन्न पुगेको सुनाए । ६५ वटा समीक्षा संगृहीत ‘इतर समीक्षा’ मा कवि विनोदविक्रम केसीको लामो निबन्धात्मक भूमिका समेटिएको छ । इन्डिगो इन्कले प्रकाशन गरेको यस किताबको मूल्य ६४९ रुपैयाँ रहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully