काठमाडौँ — साहित्य सङ्गम मकवानपुरले आठ जना साहित्यकार तथा वाङ्मयकर्मीलाई सम्मान गर्ने भएको छ । यही जेठ १० गते शनिबार सङ्गम साहित्य उत्सव तथा ३५५औं नियमित साहित्य सन्ध्या आयोजना गरी विभिन्न सम्मान प्रदान गरिने साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिअनुसार २०८०/८१ को साहित्य सङ्गम मकवानपुर कृति सम्मान कवि अभय श्रेष्ठलाई प्रदान गरिने भएको छ । बुकहिलद्वारा २०८० सालमा प्रकाशित उनको कविता सङ्ग्रह ‘लहना र तीर’लाई २०८०/८१ सालभरि प्रकाशित नेपाली कविता सङ्ग्रहमध्ये उत्कृष्ट ठहर्याउादै त्यसका स्रष्टा श्रेष्ठलाई सम्मान प्रदान गर्न लागिएको हो । केशव श्रेष्ठ ‘ज्योति’ले स्थापना गरेको सम्मानको राशि २५००१ रुपैयाँ छ ।
त्यसैगरी २०८१ सालको मकवानपुर साहित्य सम्मान राजकुमार लामिछानेलाई, भेषनाथ अधिकारी स्मृति छन्द सम्मान छन्द कवि टीका आत्रेयलाई, विनोद सुनिता सुवेदी सम्मान पत्रकार रामकुमार एलनलाई, दीपक मुडभरी स्मृति सम्मान समीर पाख्रिनलाई, मङ्गलादेवी स्मृति सम्मान बबी थापालाई, मुक्तितारा सम्मान कवि यश लामालाई, रामहरि देवु सम्मान मसान उपासकलाई प्रदान गरिने भएको छ ।
तत्कालीन जिल्ला विकास समित मकवानपुर संस्थापक रहेको मकवानपुर साहित्य सम्मान तथा विशाल अधिकारी ‘आशुतोष’द्वारा स्थापित भेषनाथ अधिकारी स्मृति छन्द सम्मान दुवैको राशि १५ हजार ५५५ रुपैयाँ छ ।
त्यस्तै, विनोद सुवदीद्वारा स्थापित विनोद सुनिता सुवेदी सम्मानको राशि ११ हजार १११ रुपैयाँ छ भने मुडभरी परिवारले स्थापना गरेको दीपक मुडभरी स्मृति सम्मान, शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गरेको मङ्गलादेवी स्मृति सम्मान, मुक्तिगोविन्द वैद्यले स्थापना गरेका मुक्तितारा सम्मान र ऋषि केबी तथा पुण्यशीला श्रेष्ठले स्थापना गरेको रामहरि देवु सम्मान चारैवटाको राशि १० हजार रुपैयाँ छ ।
साहित्य उत्सवमा सम्मानित स्रष्टा तथा अतिथिहरूको सिर्जना वाचन तथा दुई वटा बहस कार्यक्रम समेत हुने जनाइएको छ । शान्ति प्रियवन्दनाले सहजीकरण तथा निमेष निखिलले अभिभावकत्व ग्रहण गर्ने ‘कविता : युगको प्रतिबिम्ब’ शीर्षक बहसमा अभय श्रेष्ठ, टीका आत्रेय तथा घनश्याम घिमिरेले बहस गर्नेछन् ।
त्यसैगरी, छवि अनित्यले सहजीकरण तथा दीपक गौतमले अभिभावकत्व ग्रहण गर्ने ‘सपना र सम्भावना : सिर्जनामा नयाँ पुस्ता’ शीर्षक बहसमा सम्प्रस पौडेल, प्रतिमा डङ्गोल तथा कृतिका लौडारीले बहस गर्नेछन् । नेपाली साहित्य तथा कला, संस्कृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तार गर्न हेटाौडा उपमहानगरपालिकाको प्रवर्द्धनमा यो उत्सव हुन लागेको अध्यक्ष बर्तौलाले जनाएका छन् ।
