राधिका शाक्यसँग 'करुणा' संवाद : 'राजनीति मेरो बाटो होइन'

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

'Karuna' dialogue with Radhika Shakya: 'Politics is not my way'

काठमाडौँ — सार्वजनिक वृत्तमा राजनीतिक नेता र तीनमा परिवारका सदस्यलाई शक्तिको दुरुपयोग गरेको, नातावाद कृपावादमा चलेको, नातागोता र आफन्तहरूलाई राज्यका स्रोत साधन र सुविधा दिएको भन्ने आरोप लाग्छ । कतिपय नेता र तीनका परिवारले यस्ता गतिविधि गरेका तथ्य र प्रमाणहरू पनि बेलाबेला सार्वजनिक हुन्छन् ।

पदमा रहँदा होस् वा नहरँदा प्रधानमन्त्री केपी शर्मा ओली र उनको परिवारमाथि पनि यस्ता प्रश्न उठ्छन् । यस्तै प्रश्न सोमबार प्रधानमन्त्री पत्नी राधिका शाक्यको हालै सार्वजनिक पुस्तक 'करुणा' माथि प्रेस चौतारीले काठमाडौंमा आयोजना गरेको सम्पादकहरुसँगको संवाद कार्यक्रमा पनि उठ्यो । जुन प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘केपी सर पदमा रहँदा, मन्त्री, प्रधानमन्त्री हुँदा कोही पनि आफन्त वा नातागोतालाई अवसर दिइएको वा कतै लगाएको छैन । हामीबाट त्यो कुरा भएको छ, मेरो कुरा गलत लाग्छ भने तपाईंहरुले कृपया प्रमाण सार्वजनिक गरिदिनुहोस् ।'  

जीवनका भोगाइ र अनुभूतिहरु समेटिएको पुस्तकमा नै धेरै कुरा समेटिएके उल्लेख गर्दै उनले आफूभित्र कुनै राजनीतिक लाभको महत्वाकांक्षा नरहेको र अरुलाई पनि आफूले अनावश्यक रुपमा प्रश्रय नदिने बताइन् ।  ‘मसँग त त्यस्तो माग लिएर कोही आउँदैनन् । मैले केही गर्दिनँ भन्ने पनि थाहा छ, म कडा छु भन्ने पनि थाहा छ सबैलाई,’ शाक्यले भनिन्, ‘हामीतिर आउनका लागि मान्छे खोज्दै हिँड्दा रहेछन् । कसलाई भन्दा त्यहाँभित्र जान सकिन्छ कि भनेर खोज्ने रहेछन्, मेरो बहिनीहरू त्यसको मारमा धेरै पटक परेका पनि छन् ।’ 

यस्ता पहुँच खोज्दै आउने मान्छेहरुलाई कुनै प्रवेश नदिएको उनले बताइन् । ‘हाम्रो नातागोतालाई कहीँ–कतै सानो ठूलो पावरमा भएको हैसियतले राखिदिएको, केही गरिदिएको भेट्न सक्नुहुन्छ भने खोज्नुस, भेटटाउनु भयो भने भन्नोस् । एक जना कोही मान्छेलाई पनि एउटा सानो पदमा भर्ना गरेको छैन अहिलेसम्म ।’ उनले आफूले कहिल्यै केही गल्ती काम नगरेको भएकाले हरेकले गर्ने प्रश्नहरुको सामाना गर्न सक्षम रहेको धारणा राखिन् ।

प्रधानमन्त्रीको कार्यशैलीदेखि राजनीतिमा आउने चर्चापरिचर्चाबारे पनि संवादमा शाक्यमाथि प्रश्नहरु आए । ती प्रश्नमाथि शाक्यको जवाफ थियो-  ‘अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर कता–कता प्रश्न गरेको मैले सुनेकी छु । तर केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको पनि होइन, मैले राजनीति गर्छु भनेर यो गरेको पनि होइन, म आउँदा पनि आउँदिनँ, तपाईंहरू ढुक्क हुनोस–त्यो मेरो बाटो हुँदा पनि होइन । म राजनीतिमा आउँला कि, यसो–उसो भनेर चिन्ता नगर्न म विनम्र अनुरोध गर्दछु ।'  

आफू राजनीतिमा नआए पनि राजनीतिलाई नजिकबाट बुझ्ने र विश्लेषण गर्ने क्षमता रहेको उल्लेख गरिन् । प्रधानमन्त्री ओलीको अति सक्रिय रहने, अध्ययन  गर्ने र त्यसको तीक्ष्ण स्मरण गर्न सक्ने क्षमताबारे उनले प्रसंशा गरिन् । रातभर बस्ने, नसुत्ने अत्यधिक भेटघाट गर्ने ओलीको शैलीबारे पनि संवादमा प्रश्न आएका थिए । कम्तीमा केपी ओलीसहितका शीर्ष नेताहरुले स्वास्थ्यका लागि पनि ७/८ घण्टा आराम गर्नुपर्ने र त्यसका लागि शाक्यले सुझाव दिनुपर्ने प्रश्नमिश्रित सुझावको जवाफमा शाक्यले भनिन्- ‘सधैँ त रातभर बस्ने होइन । तर, कुनै दस्तावेज लेख्न र पढ्न, महत्त्वपूर्ण बैठकका लागि बस्ने हो । तर यस कुरा म केपी सरलाई सुधार्न सक्छु जस्तो लाग्दैन ।'  

उनले आफ्नो पढाइ, लेखनलगायतमा ‌ओलीको भूमिका रहेको पनि बताइन् । बाँकी समय पनि आफ्नो लेखपढमै बिताउने योजना रहेको उनले जानकारी दिइन् । कार्यक्रममा शाक्यको पुस्तकमाथि समालोचक देवी नेपाल र बबिता बस्नेतले आफ्नो समीक्षात्मक धारणा राखेका थिए ।

कान्तिपुर

Link copied successfully