काठमाडौँ — नेपालयले आफ्नै प्रांगण आरशाला कालिकास्थानमा आयोजना गरेको दुईदिने पुस्तक मेलाको अवसरमा जीवनकुमार प्रसाईंको पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ लोकार्पण भएको छ ।
आजका मानिसको भागदौड, आपाधापी, हस्याङफस्याङ, निराशा, एक्लोपन, उदासी धेरै देखेकाले आफूले नयाँ पुस्तक लेखेको लेखक प्रसाईंले बताए । ‘नाम मेरो जीवन, मेरो लेखन पनि जीवनकै वरिपरि घुमेको छ,’ लेखक प्रसाईंले भने, ‘जीवन वरदान हो, तर हामीले जीवनलाई नचाहिँदो तनाव बोकाएका छौँ ।’
सबतिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा छ तर अब इमोसनल इन्टेलिजेन्स (ईआई) पनि महत्वपूर्ण सवाल भएको बताउँदै लेखक प्रसाईंले भने, ‘भावनात्मक बुद्धिमताविना समूहमा कार्य गर्न, सामाजिक हुन गाह्रो हुन्छ ।’ लोकार्पण कार्यक्रममा प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए ।
१० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन जिउने काइदा’ पाठकको अत्यधिक रोजाइको पुस्तक हो, जसको नवौं पुनःमुद्रण भर्खरै बजारमा आएको पब्लिकेसन नेपालयले जनाएको छ । वैज्ञानिक अनुसन्धाता प्रसाईंका ‘सधैँ तन्नेरी’, ‘वरिपरि नै सर्वोपरि’, ‘धेरैको धपेडी’ पुस्तक पनि नेपालयबाटै प्रकाशित छन् ।
हलमा उपस्थितमध्ये अनिता कोइरालालाई लेखकले पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । अनिता कोइराला साहित्यकार तथा समीक्षक हुन् ।
‘फुल टाइम राइटिङ गर्छु भन्नेहरुका लागि जीवनकुमार प्रसाईं जस्ता लेखक चुनौती र दृष्टान्त एकसाथ हुन्,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘वैज्ञानिक सन्दर्भ र उद्धरण दिँदै अत्यन्त सजिलो र रसिलो सूक्तिमय भाषामा लेख्न सक्ने प्रसाईं राम्रो रचना, मीठो नेपाली भएका नेपाली लेखकमध्ये पर्नुहुन्छ ।’
