नयाँघरेलाई जीवन स्मृति पुरस्कार

वैशाख २७, २०८२

कान्तिपुर संवाददाता

Life Memorial Award to Nayaghare

काठमाडौँ — जीवन स्मृति प्रतिष्ठान झापाले निबन्धकार एवं नियात्राकार युवराज नयाँघरेलाई जीवन स्मृति पुरस्कार दिने निर्णय गरेको छ । नयाँघरेलाई नेपाली निबन्ध लेखनमा विशेष योगदान गरेबापत जीवन स्मृति पुरस्कार दिने निर्णय गरिएको प्रतिभा छनोट समितिले बताएको छ ।

यसैगरी लीला उदासी, कलाकार विक्रमश्री, कथाकार रीता ताम्राकारलाई पनि पुरस्कृत गरिने जनाइएको छ । युवा प्रतिभा प्रोत्साहन पुरस्कारका लागि खुशी चोमु शेर्पालाई छानिएको संस्थाका सचिव धनकुटे कान्छाले जानकारी दिए ।  

जीवन आचार्य ३० को दशकका चर्चित कवि, कलाकार, डिजाइनर तथा स्तम्भकार हुन् । उनको नाममा जीवन स्मृति प्रतिष्ठान स्थापना भई हरेक वर्ष संस्थाले प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ। 

उक्त पुरस्कारहरु जीवन आचार्यको स्मृति दिवसको अवसरमा जेठमा कार्यक्रम गरी  प्रदान गरिने प्रतिष्ठानले बताएको छ । जीवन स्मृति प्रतिभा पुरस्कारको राशि २० हजार १ सय ११ नगद र ताम्रपत्र साथै जीवन स्मृति युवा पुरस्कार १० हजार १ सय ११ नगद र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully