रवीन्द्र मिश्रको हिरासत बसाइ : ३८ दिनमा लेखे १८ कविता

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

Rabindra Mishra's detention: Wrote 18 poems in 38 days

काठमाडौँ — ३८ दिनदेखि प्रहरी परिसर काठमाडौंको थुनामा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यस अवधिमा १८ कविता लेखेको बताएका छन् । ‘मातातीर्थ औंसीको दिन आमासम्बन्धी कविता लेखें,’ मिश्रले भने, ‘अदालतको निर्देशन, देशको कानुन र आफ्नै सजायका विषयमा पनि कविता लेखेको छु ।’

हिरासतबाट निस्किएपछि कविताको पुस्तक निकाल्ने सोच रहेको उनले जनाए । ‘हिरासतबाट छुटेपछि कवितासङ्ग्रह निकाल्नुपर्छ है,’ सोमबार भेट्न गएका फाइनप्रिन्टका नीरज भारीसँग मिश्रले भने, ‘त्यसमा हिरासतको एउटा छुट्टै खण्ड हुनेछ । अरु एकदुई खण्डमा समसामयिक विषयका कविता हुनेछन् ।’ 

आफ्नो दैनिकी उस्तै गरी चलिरहेको मिश्रले बताए । भेट्न आउनेहरूले लगिदिएका पुस्तक पढ्दै अनि कविता लेख्दै आफ्नो दैनिकी चलिरहेको उनले जनाए । ‘बिहान उठ्ने, शारीरिक व्यायाम गर्ने, पढ्ने–लेख्ने र भेट्न आउनेसँग कुराकानी गर्दै समय बितिरहेको छ,’ उनले भने, ‘हिरासत कक्षामा मलाई पढ्न–लेख्न समस्या छैन ।’ 

राप्रपामा महामन्त्री धवलशमशेर राणा हुँदा थुनाभित्रै उनलाई कविता सुनाउने गरे पनि शमशेर नभएपछि सुन्ने मान्छे नभएको समेत मिश्रले जनाए । हिरासतमा पर्नुअघि हरेक दिन सामाजिक सञ्जालमा सक्रिय रहने मिश्रले थुनामा मोबाइल र इन्टरनेट चलाउन पाउँदैनन् । ‘मैले कुनै अपराध गरेको छैन । म राज्यको कानुन देखेर ट्वाँ परेको छु । आफूभन्दा पनि नयाँ पुस्ताको भविष्यका लागि आफू चिन्तित रहेको मिश्रले जनाए । ‘गत चैत १५ मा राज्यले नै हामीलाई दमन गर्‍यो, अश्रुयास हान्यो । अनि फेरि हामीलाई नै मुद्दा चलायो ।’

आफूमाथि राज्यशक्ति नै लागेकाले आफू हाजिरी जमानीमा नछुटेको उनको भनाइ छ । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । सोही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहितका राप्रपा नेता पक्राउ परेका थिए । 

कान्तिपुर

Link copied successfully