काठमाडौँ — निजी वायुसेवा कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ‘बाई द बुक’ पुस्तक ल्याएका छन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक संसारभक्त श्रेष्ठ, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा, लेखक वीरेन्द्रबहादुर बस्नेत, बस्नेतकी पत्नी सुनिता बस्नेत र पत्रकार एवं लेखक बसन्त बस्नेतले पुस्तक लोकार्पण गरे ।
वार्षिक ३० लाख यात्रुलाई सेवा दिँदै आएको बुद्ध एयरको २८ वर्षको यात्राको बेलिविस्तार पुस्तकमा समेटिएको छ । ‘बुद्ध एयरलाई व्याख्या गर्ने पुस्तक हो, बाई द बुक,’ कार्यकारी अध्यक्ष बस्नेतले भने, ‘मलाई पनि यसैले डिफाइन गर्छ । यो एक अनुशासन हो ।’ पुस्तकले नियमसंगत रूपमा कसरी व्यापार गर्ने भनेर नयाँ पुस्तालाई मार्गनिर्देश गर्ने उनको भनाइ छ । ‘बुद्ध एयर स्थापना भएपछि हामीको व्यवस्थापनबारे लेखिएका दर्शनलाई थाती राखेर सडकमा उत्रिएर व्यवस्थापन गरेका थियौं,’ उनले भने, ‘त्यो अनुभव पुस्तकमा समेटिएको छ ।’
लेखक बस्नेतले कम्पनी स्थापना गर्ने आफ्ना पिता सुरेन्द्र बस्नेतलाई कार्यक्रममा स्मरण गरे । ‘मेरो सबैभन्दा ठूलो गुरु बुबा हुनुहुन्थ्यो,’ हवाई उद्यमी हुँदै कृषि उद्यममा पनि सक्रिय बस्नेतले भने । आज बुद्ध एयर जुन स्थानमा पुगेको छ, त्यो एक्लोको प्रयास नभई सम्पूर्ण कर्मचारीको हातेमालोबाट सम्भव भएको उनले जनाए । ‘कम्पनीमा सबै कर्मचारीले स्वमित्व महसुस गर्दै आएका छन्,’ लेखक बस्नेतले भने ।
नेपालमा सफल व्यवस्थापन र गुणस्तरीय सेवाको नमुनाका रूपमा बुद्ध एयर प्रेरणादायी संस्था भएको कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक श्रेष्ठले बताए । बुद्ध एयरसँग सुरुमा लगानीका लागि सम्झौता गर्दा जोखिम उठाए पनि कालान्तरमा यो नमुना संस्था बनिसकेको हिमालयन बैंकका सीईओ जबराको भनाइ छ । यस्तो संस्थासँग आर्थिक लगानीमा साझेदारी गर्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको उनले जनाए ।
बुद्धले सुरुमा अमेरिकी विमान बिचक्राफ्ट १९०० सी र डीबाट पोखरा, विराटनगर र पर्वतीय उडान थालेको थियो । अहिले देशभरका सुगम विमानस्थल र भारतको वाराणसीमा उडान गर्दै आएको छ । सन् १९९७ मा ४ जना कर्मचारीबाट सुरु भएको बुद्ध एयरले हाल दैनिक १ सय ६० वटा उडान गर्दै दैनिक ९ हजार हाराहारी यात्रुलाई सेवा दिन्छ । कम्पनीमा १६ सय हाराहारी कर्मचारी छन् । हाल कम्पनीसँग १८ वटा एटीआर विमान छन् ।
