श्रम, श्रमिक विशेष कविता वाचन

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Labor, labor special poetry reading

काठमाडौँ — वर्तमान कविता समूहले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ‘श्रम, श्रमिक विशेष कविता वाचन’ शीर्षकमा विशेष कार्यक्रम गरेको छ ।

काठमाडौंको मन्डिखाटारस्थित युरेसियन स्कूलमा सम्पन्न कार्यक्रममा नेपालका समकालीन १२ कविले श्रमिकहरूको जीवन, संघर्ष र गरिमा उजागर गर्ने कविता प्रस्तुत गरेका थिए।

कवितामार्फत सामाजिक असमानता, आर्थिक कष्ट र सामान्य श्रमिकहरूको मौन सहनशीलता तथा जुझारूपनको संवेदनशील चित्रण गरिएको यस कार्यक्रमले श्रमिक वर्गप्रति श्रद्धारसम्मान व्यक्त गरेको थियो।

कार्यक्रमको सुरुवात कवि विश्व सिग्देलले 'जुस पसलमा' कविता वाचनबाट गरेका थिए, जसमा जुस पसलमा काम गर्ने एक युवकको मौन सहनशीलता र आर्थिक शोषणको सूक्ष्म चित्रण गरिएको थियो । कवि चन्द्रबहादुर लामाको 'श्रम दिवसमा' कविता श्रमिकको जीवनलाई जीवन्त रूपमा उतार्दै श्रम दिवसको गहिरो भावनात्मक सन्देश प्रवाह गरेको थियो ।

कवि सञ्जय सुमनको 'पसिना' कविताले पसिनालाई श्रम र धैर्यको अमूल्य प्रतीकको रूपमा प्रयोग गरेको थियो। कवि रमी प्रिया (रमी श्रेष्ठ) ले 'मानिस र पर्खाल' मार्फत श्रमिक वर्गले भोग्ने मानसिक र सामाजिक पर्खालहरूलाई उजागर गरिन् । कवि तीर्थराज भट्टराईको 'गिट्टी कुट्ने आमाको याचन' कविताले गिट्टी कुटेर जीविका चलाउने आमाको पीडा र परिवर्तनप्रतिको करुण पुकार प्रस्तुत गरेको थियो ।

कवि दिलकुमारी डंगोलको 'सेतो एप्रोन' कविताले सेवा र स्वास्थ्य पेसामा क्रियाशील महिलाहरूको संवेदनशील संघर्ष उजागर गरेको थियो । कवि नवराज घिमिरेको 'भुइँमान्छे' कविताले समाजको पिँधमा रहेका प्रायः उपेक्षित तर अत्यन्त बलियो श्रमिकहरूको कथा सुनाएको थियो । कवि धीरकुमार श्रेष्ठको 'गरीब दासको कथा' ले एक सेवकको मौन पीडा र वफादारीको कथा सरल भाषामा व्यक्त गरेको थियो । कवि सुरेश गाँउलेको 'ए भारिया दाइ' कविताले भारी बोक्ने मजदुरको शारीरिक र भावनात्मक पीडा उजागर गरेको थियो । कवि केशव सिलवालको 'जुठो भाँडा बटुल्दै एउटी महिला' कविताले जात, वर्ग र लिङ्गको विभेदमा जीवन गुजार्ने महिलाको पीडा देखाएको थियो । कवि अभय श्रेष्ठले 'सुकुनाराको पवित्र मन्दिर' कविता वाचन गर्दै श्रमिकको शरीरलाई श्रमको पवित्र मन्दिरको रूपमा प्रस्तुत गरेको थियो। त्यसैगरी कवि ईश्वर थोकरले 'तिम्रो नाम' शीर्षक कविता प्रस्तुत गरेका थिए।

कार्यक्रमले साहित्य मात्र होइन, श्रमको गरिमा र श्रमिकका जीवनकथाहरूलाई प्रकाशमा ल्याउने सशक्त प्रयास गरेको थियो । वर्तमान  कविता समूहको यो पहलले यस्ता आवाजहरूलाई स्थान दिएकोमा प्रशंसा पाएको छ । यसले कविता सामाजिक न्याय, सहानुभूति, र चेतनाको माध्यम बन्न सक्ने पुष्टि गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully