किनारमा परेकाहरुको कथा भन्न चित्रकला

वैशाख १५, २०८२

रमेशकुमार पौडेल

A painting to tell the story of those on the edge

चितवन — समाजमा जात र लिंगका आधारमा गरिने भेदभाव र उत्पीडन उत्तिकै छ । जन्मिँदा महिला या पुरुषको अंग लिएर आए पनि हुर्किदै जाँदा त्यसभन्दा फरक यौन स्वभाव र अभिव्यक्ति भएका व्यक्तिप्रति हुने व्यवहार पनि सम्मानजनक छैन ।उनीहरुले समाजमा लाञ्छना सहनु परेको छ ।

यी विषयमा शनिबार भरतपुरमा छलफल कार्यक्रम सम्पन्न हुनुका साथै चित्रकला प्रर्दशनी पनि सुरु भएको छ। चित्रकार सुरक्षा वाग्लेले बनाएको चित्रमा पुरुष रजस्वला भएको देखिन्छ । यो चित्रकारको कल्पना हैन, यथार्थ नै हो । पुरुषहरु पनि रजस्वला हुन्छन् ।

चित्रको वर्णनमा भनिएको छ, ‘पारलैगिंक पुरुषहरु स्वभावैले प्राकृतिक रुपमै रजस्वला हुन्छन् । मात्र हामीले उनीहरुको पहिचान नगरेको हो । उनीहरुको अस्तित्वलाई अस्वीकार गर्दै आएको हो । यो चित्र दलित क्वियर अस्तित्वको शक्ति र विद्रोहको गहिरो प्रतिक हो ।’

क्वियर शब्दको अर्थ के होला ? जन्मिँदाका बखतको यौनांगका आधारमा इङ्गित गरिएको लिंगसँग मेल खाने लैङ्गिक पहिचान नभएका, लैङ्गिक विविधताका व्यक्तिहरु र महिला पुरुषबीच हुने यौन तथा प्रणय अकार्षणभन्दा फरक र विविध यौन व्यवहार भएका व्यक्तिहरुलाई जनाउने व्यापक शब्द हो क्वियर । शिवहरि ज्ञवालीले सम्पादन गरेको ‘दलित क्वियर संघर्ष गाथा : दलित क्वियर र प्रतिरोध’ पुस्तकमा यो कुरा उल्लेख छ।

 दलित क्वियर, जातीय र लैगिक विभेदलाई दर्शाउनका लागि भरतपुर चौबिसकोठी सडक किनारमा ४० चित्रहरु सार्वजनिक प्रदर्शनीमा राखिएका छन् । शनिबार, आइतबार र सोमबार तीन दिन दिउँसो तीन बजेदेखि साँझसम्म उक्त प्रदर्शनी चल्ने छ । चितवनको सामाजिक संस्था ‘सामरी उत्थान सेवा’, चित्तौन कचहरी र बेटर चितवन नामक युवाहरुको संस्थाले संयुक्तरुपमा उक्त प्रदर्शनी आयोजना गरेका हुन् ।

सामरी उत्थान सेवाका कार्यक्रम व्यवस्थापक समेत रहेका शिवहरि ज्ञवालीले दिएको जानकारी अनुसार ती ४० चित्र ४० जना चित्रकारहरुले नै कोरेका हुन् । चित्रकला प्रदर्शनी सुरु हुनुभन्दाअघि ‘जात, लिंग र यौनिकता ः किनाराको पनि किनाराका कुरा’ विषयमा अभियानकर्मीहरुसँग डा.जीवन क्षेत्रीले संवाद गरेका थिए । विमला गायक, मिलन बास्तोला (कान्छा दाइ) र रोशनी कर्ण यो छलफलमा सहभागी थिए ।

गन्धर्व समुदायकी विमला गायक ६ वर्षको उमेरमा भर्ना भएर विद्यालय जाँदा पहिलो बेञ्चमा बस्दा शिक्षकले नै यहाँ बस्ने हैन भनेर लतार्दै पछिल्लो बेञ्चमा राख्देपछि भोग्न सुरु गरेको जातीय भेदभावको विभिन्न घटना र त्यसको उत्कर्ष रुप सुनाइन् । यसका साथै विभिन्न संघर्ष गर्दै अगाडी बढ्दै जाने क्रममा सामरी उत्थान सेवा नामक सामाजिक संस्था खोलेर शिक्षा र अवसरका लागि आफुले गरेको प्रयासहरु उनले त्यहाँ चर्चा गरिन् ।

मिलन बास्तोला एलजीबीटीआईक्यू समुदायको व्यक्ति र यो अभियानको अभियानकर्मी पनि हुन् । उनको भनाइ थियो ‘म र दाइ जन्मेको हो । जन्मदा छोरी भए पनि पछि स्वभावले छोरा जस्तै हुँदै गएँ । परिवारमा त्यस्तो हेला केही भएन । एउटा छोरा थियो दुईवटा भयो भन्नु हुन्थ्यो ।’ तर राज्यले नीति नियम बनाएर आफ्नो समुदायको संरक्षण नगरकोमा उनलाई दुख लागेको छ । उनी अर्को एकजना महिला साथीसँगै बस्दै आएका छन् ।

‘हामी दुईजनाले सल्लाहा गरेर एकजना छोरी एडप्ट गर्‍यौं, हुर्कायौं, पढायौं । तर जन्मदर्ता गर्न साह्रै सकस भयो । कक्षा ८ मा पुगेपछि जन्म दर्ता नगरी नहुने भयो । जन्मदर्ता भएको त छ, नागरिकता निकाल्ने बेला अझै भएको छैन । नागरिकता ननिस्कदासम्म त्यो जन्म दर्ता पक्का हो कि हैन भन्ने धुकचुक रहन भयो,’ उनले भने । आफ्नो जस्तो विहेलाई अस्थायी दर्ता गर्ने गरेकोमा पनि उनलाई दुखेसो छ ।

रोशनी कर्ण दलित क्वियर अभियन्ता हुन् । दलित संगठनभित्र क्वियरका विषयमा कुरा नहुने र क्वियर अभियानभित्र दलितका समस्या नबुझ्ने देखिएपछि दलित क्वियर अभियान सुरु गरेको उनले बताइन् । नेपालमा संविधानमा, कानुन र सर्वोच्च अदालतको व्याख्याले क्वियरहरुका लागि धेरै खाले अधिकार दिए पनि वडा र समुदाय तहमा अत्तोपत्तो नहुने परिपाटी रहेका कारण अभियान चलाउन आवश्यक रहेको उनले बताइन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully