तरहरा राष्ट्रिय कविता प्रतियोगितामा अविनाश पहिलो

अधिकारकर्मी परियारदेखि डाक्टर खड्कासम्म सम्मानित

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Avinash 1st in Tarhra National Poetry Competition

इटहरी — सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ पहिलो बनेको छ। 

‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरी वाचनसहित अन्तिम प्रतिष्पर्धा भएको थियो। 

प्रतियोगितामा भट्टराई पहिलो बनेका हुन्। प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता द्वितीय भयो । यस्तै, रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविताले तृतीय स्थान प्राप्त गर्‍यो। यसैगरी सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ सान्त्वना भयो ।

जनसहयोग २०५० समूह तरहराले गरेको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार क्रमश: नगद ५१ हजार एक सय, ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरियो। 

उत्कृष्ट १० मा छनोट भएका गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कवितालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरियो ।

कवितामा विजयीहरूलाई अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवसले पुरस्कार प्रदान गरे। उक्त अवसरमा तरहरा मुल निवासी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्दै स्थानीय,राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जीवनमा योगदान गरेका नवल नेपाल, प्रकाशचन्द्र परियार, मणिराम श्रेष्ठ, डाक्टर धनकेशर खड्का, कमला सुब्बा, कमला चापागाँई लगायतलाई सम्मान समेत गरिएको छ। 

नेपालमै सबैभन्दा बढी पुरस्कार राशीको कविता प्रतियोगिता सम्पन्न भएको आयोजक जनसहयोग २०५० समूह, तरहराका अध्यक्ष सन्तोष श्रेष्ठले बताए।

कान्तिपुर

Link copied successfully