विराटनगर — ‘रेमिटल्याण्ड’ उपन्यासबाट नेपाली साहित्यमा फरक परिचय बनाएका झापाका श्याम सिंघक अब ‘कोइलाखाद’ लिएर पाठकमाझ आउँदैछन्। ‘कोइलाखाद’ भारतको मेघालयका कोइलाखानीमा पसिना बगाएका नेपाली श्रमिकको जीवन गाथा हो।
कोइलाखानीलाई श्रमिकहरूले आफ्नो लवजमा कोइलाखाद भन्छन्। त्यही लवजलाई टपक्क टिपेर कृतिको शीर्षक जुराइएको हो। करिब ६ वर्ष लामो अनुसन्धानपछि तयार भएको यो उपन्यास छपाई प्रक्रियामा छ र आगामी साता यो कृति सार्वजनिक हुने तयारी भइरहेको लेखक सिंघकले बताए।
नेपालमा फिनिक्स बुक्स र भारतमा बुकआन्ट पब्लिकेसन्स मार्फत उपन्यास प्रकाशन हुँदैछ । ‘कोइलाखाद’ को कथा पूर्वोत्तर भारतको मेघालय र असम क्षेत्रका कोइला खानीहरूमा मजदुरी गर्ने नेपाली श्रमिकहरूको जीवनमा आधारित छ । श्रमिकहरूले भोगेका कष्ट, शोषण, संघर्ष र विस्थापनको कथा उपन्यासको मूल स्वर बनेको छ ।
सन् २०१४ मा भारत सरकारले मेघालयका कोइला खानीहरू बन्द गरेपछि हजारौं नेपाली श्रमिकको रोजीरोटी खोसिएको थियो । त्यही वास्तविकतालाई उपन्यासमा दस्तावेजीकरणको प्रयत्न भएको छ । ‘यो कोइला खानीको कथा मात्रै होइन, नेपाली श्रमिकको रित्तिदै गएको सपना र घर फर्कनु परेको बाध्यताको कथा पनि हो,’ लेखक सिंघकले भने ।
यस कृतिको लेखनका लागि लेखकले चारपटक मेघालयको यात्रा गरे । महिनौं नेपाली श्रमिकसंगै बिताएर उनीहरूको जीवन नजिकबाट बुझे । अनि आख्यान तयार पारे । ‘म उनीहरूजस्तै बनेर उनीहरूकै पीडा महसुस गर्न चाहन्थे,’ सिंघकले सुनाए,‘ लेखकको वास्तविक भोगाई कृतिलाई थप वलियो बनाउने छ ।’
विकासे अभियन्ताका रूपमा लामो समय काम गरेका सिंघक अहिले निजी स्कुलका संचालक छन् । स्कुले जीवनदेखि नै लेखनमा रुचि राख्थे । सन् २०६० तिर ‘निरव यात्री’ छद्मनामबाट ‘दलिता’ उपन्यास प्रकाशित गरे । तर, उपन्यास सार्वजनिक गरेनन् । बरु साहित्य लेखनलाई चटक्कै भुलेर जीवनयापनको संघर्षमा केही समय टाढिए ।
त्यो कृतिमा जातीय विभेद र छुवाछुतको यथार्थ समेटिएको भए पनि बजारमा पुग्न सकेन । ‘साहित्यिक चेत थिएन, दृष्टिकोण त ठीकै थियो तर कला पक्षमा चुकेँ’, सिंघक सम्झन्छन् । यही कमजोरीले उनलाई पीडित बनायो र त्यसकै प्रतिक्रियामा इखसाथ ‘रेमिटल्याण्ड’ लेखे ।
‘रेमिटल्याण्ड’ मार्फत पुनः फर्किएपछि भने उनले आफूलाई साहित्यमा पूर्ण रूपमा समर्पित गरेका छन् । वैदेशिक रोजगारीमा आधारित ‘रेमिटल्याण्ड’ २०७४ सालमा प्रकाशित भएको थियो र त्यसले पाठकहरूको मन जितेको थियो । २०७० सालमा लेख्न थालेको आख्यान झण्डै चार वर्ष पछि बजारमा आयो ।
वैदेशिक रोजगारको पृष्ठमूमिमा लेख्दा उनीसंग चुनौतीको ठूलो चाङ थियो । अन्य कृतिको तुलनामा कसरी पृथक ढंगवाट प्रस्तुती गर्न सकिएला भन्ने त्रासले पनि मनमा डेरा जमाएको थियो । रेमिटल्याण्ड लेख्दाको अनुभव सुनाउँदै भन्छन्, ‘सुरुमा उपन्यासको नाम ‘मनसुन’ राख्ने सोच थियो । तर सुविन भट्टराईले त्यही नामको कृति ल्याइसकेपछि अर्को नाम खोज्नुपर्यो । अन्ततः साथीहरूको सल्लाहमा ‘रेमिटल्याण्ड’ राख्ने निर्णय गरेँ ।’
‘कोइलाखाद’ उपन्यासले पाठकलाई नेपाली श्रमिकहरूको जिवन्त यथार्थमा पुर्याउने अपेक्षा लेखकको छ । ‘यो केवल कल्पनामा आधारित कथा होइन, यो श्रममा डुबेका हजारौँ नेपालीको जीवन गाथा हो’, सिंघक थप्छन् ।
नेपाल र भारतमा एकैसाथ प्रकाशन हुनु उपन्यासका लागि थप सकारात्मक अवसर हो, जसले सीमापारका पाठकमाझ पनि सम्वेदनशील विषयलाई पुर्याउन मद्दत गर्नेछ ।
