काठमाडौँ — निबन्धकार, कवि, गीतकार र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको निबन्ध संग्रह ‘शब्द सायारेम’ सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित लोकार्पण कार्यक्रममा लेखकहरू खगेन्द्र संग्र्रौला, डा. गोपाल ठाकुर, डम्बर चेम्जोङ, भोगिराज चाम्लिङ र कुमारी लामाले किताबको लोकार्पण गरेका हुन् ।
डा. डम्बर चेम्जोङले सामाजिक इतिहास र उद्विकासमा भूपाल राईका निबन्धको महत्व रहने बताए । उनले भने, ‘भूपाल राईका निबन्धमा पुर्खाहरूको स्मृति, जीवनको ऐतिहासिकता र वैचारिकताको दरिलो अडान छ ।’
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले भूपाल राईका निबन्धले सामुदायिक विचार र सामाजिक युगीन चेतनाको बहस गर्ने बताए । ‘तपाईंको पहाड घर कहाँ हो ?’ शीर्षकको निबन्धलाई गैरमधेसीबाट मधेसी समुदायमाथि भएको दमनको संकेतको रूपमा आफूले लिएको बताए । भाषाका कारण नेपालभित्रै अनेपाली हुनुपर्ने अवस्थाको विम्बको रूपमा पुस्तकको चर्चा उनले गरे ।
भोगिराज चाम्लिङले ‘तपाईंको पहाड घर कहाँ हो ?’ निबन्धले नेपाली समाजको सिंगो चित्रण गरेको बताए । ‘भूपाल राईको निबन्धात्मक शैली किरातीको साकेला नाचको उच्चतासँग तुलना गर्नुपर्छ,’ उनले भने ।
सभ्यताको विकासको आधार–स्तम्भ उधिन्दै तानाशाहलाई प्रश्न गर्ने बागी विचार भूपाल राईका निम्बन्धमा भएको लेखक खगेन्द्र संग्रौलाले बताए । ‘कोलम्बस र पृथ्वीनारायण शाहमाथि लेखकले उठाएका प्रश्नहरूले बहुलता खडा गर्छ’, संग्रौलाले भने ।
लेखक कुमारी लामाले भूपाल राईको निबन्धसंग्रह वैचारिकताको जबर्जस्त दस्तावेज भएको बताइन् । ‘रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिको विषयले अबका पुस्तालाई प्रेरणा दिन्छ र वैचारिकता निर्माणमा सहयोग गर्छ’, उनले भनिन् ।
‘शब्द सायारेम’ का लेखक भूपाल राईले निबन्ध लेखनको सकस र वैचारिकता परिवेशबारे बोल्दै धन्यवाद व्यक्त गरे ।
बुकहिलले प्रकाशन गरेको किताबको मूल्य मोटो गाताको ८०० र पातलो गाताको ६०० रुपैयाँ छ ।
