कान्तिपुरकर्मी मातृका दाहाल पुरस्कृत

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

Kantipurkarmi Matrika Dahal awarded

काठमाडौँ — कान्तिपुरकर्मी मातृका दाहाल पुरस्कृत भएका छन् । पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा पुर्‍याएको योगदानस्वरुप दाहाल प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो । उनीसँगै उकालो डटकमकी दीपा दाहाल नगदसहित सम्मानित भएकी छन् । 

प्रतिष्ठान अध्यक्ष दुर्गाप्रसाद दाहाल र निवर्तमान अध्यक्ष शालीग्राम दाहालले पत्रकारद्वयलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरे । 

करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील कान्तिपुरकर्मी दाहालले अमेरिकी सरकारद्वारा स्थापित भ्रष्टाचार विरुद्धको ‘एन्टी करप्सन च्याम्पियन अवार्ड–२०२४' सहित बारबरा फाउन्डेसन खोज पत्रकारिता पुरस्कार (२०८१), अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा स्थापित सुशासन अवार्ड-२०७९ र २०८०, नेपाल आर्थिक पत्रकार समाजद्वारा स्थापित सेजन अवार्ड-२०७६ र २०८०, इञ्जा खोज पत्रकारिता पुरस्कार-२०७९ लगायत विभिन्न अवार्ड/पुरस्कार र सम्मान पाइसकेका छन् । उनले उच्च पदस्थ राजनीतिक, प्रशासनिक, बिचौलिया/व्यापारी संलग्न रहेका नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण, टेरामक्स प्रकरणसहित ठूला भ्रष्टाचारका घोटाला बाहिर ल्याएका थिए । यी प्रकरणमध्ये केही मुद्दा प्रक्रियामा गएर दोषी ठहर हुनुका साथै केही न्यायिक निरुपण र केही अनुसन्धानका क्रममा छन् । 

यसैगरी प्रतिष्ठानले कानुन तथा न्याय क्षेत्रमा लामो समयदेखि क्रियाशील वरिष्ठ अधिवक्ता हरिहर दाहाल, यो वर्षको एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट अंकसहित नाम निकालेकी प्रिसियस दाहाल, धर्म–संस्कृतिका माध्यमबाट योगदान पुर्‍याएका रमेश खनाल, समाजसेवी महेश्वर न्यौपाने, साहित्य क्षेत्रमा क्रियाशील खेमनाथ दाहाल, सामाजिक कार्यमा सक्रिय शिवप्रसाद दाहाललाई पनि प्रतिष्ठानले नगदसहित सम्मान गरेको छ ।

प्रतिष्ठानको उपत्यका अधिवेशनको अवसरमा शनिबार पत्रकारलगायतलाई सम्मान गरिएको हो । प्रतिष्ठानका निवर्तमान अध्यक्ष शालीग्राम दाहालले दिवंगत बाआमा जानकी बल्लभ दाहाल र चन्द्रप्रभा दाहालका नाममा २०५६ मा कोष स्थापना गरेका हुन् । प्रतिष्ठानले विभिन्न पेसा/व्यवसायमा आबद्ध उत्कृष्ट काम गर्नेलाई सम्मानका साथै सामाजिक कार्य गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully