'हिउँकाे गीत'माथि भरतपुरमा विमर्श

वैशाख ६, २०८२

रमेशकुमार पौडेल

Discussion on 'Snow Song' in Bharatpur

चितवन — तीर्थ गुरुङकाे हालै प्रकाशित उपन्यास 'हिउँकाे गीत'माथि शनिबार भरतपुरमा विमर्श तथा अन्तर्क्रिया भएकाे छ ।

तमु प्ये ल्हु संघ चितवन कार्य समितिले आयाेजना गरेकाे कार्यक्रममा भुपिन खड्काले गुरुङ राम्राे कविता लेख्ने र उनका कवितामा शब्दकाे सुन्दर नृत्य भाव देखिने बताए । उनी बाैद्धिक चिन्तन मनन गर्ने भएका कारण साहित्यप्रेमीले हिउँकाे गीतजस्तो उत्कृष्ट आख्यान पाएकाे खड्काले बताए ।

कृतिमाथि टिप्पणी गर्दै माया काेन्मे तमु गुरुङले यस उपन्यासमा गुरुङ किंवदन्ती र जादुमयी यथार्थकाे राम्राे प्रयाेग भएकाे बताइन् । 'धेरै म्याजिकल रियालिजम (जादुई यथार्थ) उपन्यासमा छ । मान्छेभित्रकाे गहिराे संवेगको धेरै महत्व रहन्छ, जुन याे उपन्यासमा छ,' उनले भनिन् ।

समीक्षक केशव चालिसेले याे पुस्तक गुरुङ संस्कार संस्कृतिकाे आधिकारिक दस्तावेज जस्ताे देखिएकाे हुँदा कम्तीमा गुरुङ समुदायका हरेक घरमा याे किताब हुनुपर्ने बताए । बहुनायक, धेरै कथाकाे गज्जबकाे मिश्रण भएकाे हुँदा याे महाउपन्यास भएकाे चालिसेकाे भनाइ थियाे ।'तैपनि कथा अलि धेरै तन्कियाे कि, पात्रहरू पाठकमैत्री भएनन् कि भन्ने लाग्यो,' उनकाे टिप्पणी थियाे । 

अर्का समीक्षक पदमलाल भारतीले वर्तमान समयमा व्यक्तिहरूबाट सुरु गरेर उपन्यासले सात सय वर्षअघिकाे गुरुङ समाजकाे वर्णन गर्ने बताए । उनले याे उपन्यास गुरुङ समुदायकाे सबै पक्ष समेटिएकाे महाभारत जस्तै भव्य कृति भएकाे बताए । 

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully