काठमाडौँ — बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आजको विशेष बैठकले निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष दुबसु क्षेत्रीले जानकारी दिए ।
आधुनिक नेपाली कविताको सिर्जना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान गरी साहित्य र संस्कृतिलाई समृद्ध बनाएको भन्दै दिवसलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कारको राशी ७५ हजार छ । १९९८ असारमा धनकुटामा जन्मिएका दिवसका तुलसी दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृति प्रकाशित छन् ।
यस्तै, आधुनिक नेपाली कविता, मुक्तक र कथामार्फत नेपाली साहित्यलाई समृद्ध बनाएको भन्दै गुरुङलाई ५० हजार राशीको मानश्री पुरस्कार प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ । २००४ चैतमा सिन्धुपालचोकमा जन्मिएकी गुरुङका सूर्यदह, धुपी, देवल घुमेपछि, तोया गुरुङका कविता, पुनरावती, कुसुम र अस्पृश्य कृतिहरु प्रकाशित छन् ।
प्रतिष्ठानले २०५७ सालदेखि नेपाली साहित्यमा विशेष योगदान पुर्याउने व्यक्तिलाई उक्त पुरस्कारहरु प्रदान गर्दै आएको छ ।
