दाङ — नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको कविता संग्रह ‘बाको अनुहार’ सार्वजनिक भएको छ ।
शनिबार बिहान घोराहीमा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कविता संग्रह विमोचन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले साहित्यीक सिर्जनाको प्रभाव दीर्घकालसम्म रहने बताए । ‘साहित्यले समयको चित्रण गर्नुपर्छ । समसामयीक परिवेशलाई प्रदर्शन गर्नुपर्छ,’ उनले भने,’विपुलका कविताले देश र परिवेशको चित्रण गरेका छन् । यसले लामो समय प्रभाव छोड्नेछन् ।’
संग्रहको समीक्षा गर्दै साहित्यकार कृष्णराज डिसीले पोख्रेलका कविताले आफ्ना बाको मात्रै नभएर सबै बाआमाहरूको कथाव्यथा पस्केको बताए । अर्का समिक्षक राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदासीले पोख्रेलका कवितामा देशपरिवेश र समाजको सही चित्रण भएको बताए ।
संग्रहको सम्पादन आदिम केसीले गरेका छन् । ३० वटा कविता समेटिएको संग्रहको प्रकाशन गोरक्ष दैनिकले गरेको छ ।
