काठमाडौँ — पत्रकार तथा लेखक रोहित भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण गरिएको छ। प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमबीच शुक्रबार प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, लेखक रोहित भण्डारीलगायतले पुस्तक लोकार्पण गरे ।
प्रेरणादायी पुस्तक लेखकका रूपमा पहिचान बनाएका भण्डारीको ‘दिए पुग्छ’ पुस्तकले परोपकारी समाज निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने उपसभामुख इन्दिरा राना मगरले बताइन् । ‘नेपाललाई चिनाउने भनेकै कथाले हो । यस्ता सकारात्मक र वास्तविक जीवनका कथाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्छ,’ उनले भनिन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले यस्ता खालका पुस्तकले नेपालमा परिवर्तन ल्याउन सहयोग पुग्ने जनाए । आजकाल झुटा समाचार, गालीगलौज र नकारात्मक सामग्रीह प्रकाशन गर्ने प्रवृत्ति बढिरहेका बेला पत्रकारिताको मूल धर्म यो नरहेको उनको भनाइ छ ।
समाजमा सकारात्मक परिवर्तन ल्याउने, सङ्घर्षका प्रेरणादायी कथा प्रकाशन गर्न उनले पत्रकारहरूलाई आग्रहसमेत गरे । यस्ता पुस्तकहरूले नेपालमा आमूल परिवर्तन ल्याउन सहयोग पुग्ने उनको भनाइ छ ।
पत्रकार रोहित भण्डारीको लेखन शैलीबाट आफू प्रभावित भएको साहित्यकार बलराम दाहालले बताए । वास्तविक पात्रहरूका प्रेरणादायी कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको पुस्तक ‘दिए पुग्छ’ पढ्दै जाँदा आफू धेरै पटक भक्कानिएको उनको भनाइ छ । १३ वटा शीर्षकमा वास्तविक जीवनको सङ्घर्षको कथा mपुस्तकमा उनिएको उनले जनाए ।
पुस्तकका लेखक रोहित भण्डारी पुस्तक लोकार्पण कार्यक्रममा आमाको आर्शीवाद नपाउँदा भावुक भए । ‘मैले यो पुस्तकका पात्रहरूको कथा आमालाई सबै सुनाएको थिएँ । तर जब मैले यो पुस्तक लेखेर सकें, आमा मेरो साथमा हुनुहुन्न, तपाईंहरुले पुस्तक पढ्दै गर्दा मेरी आमालाई पनि अन्तरआत्माले सम्झिदिनुहोला,’ उनले भने ।
