किस्सा र कवितामा सुनिए कवि तीर्थ श्रेष्ठ

चैत्र १०, २०८१

तस्बिर : हेमन्त श्रेष्ठ

Poet Tirtha Shrestha heard in anecdotes and poems

काठमाडौँ — जीवनको विषयमा कवि तीर्थ श्रेष्ठका चार पंक्ति छन्, 'म जहाँ बास बस्छु, त्यो मेरो घर हैन । म जहाँ अडिन्छु त्यो मेरो गन्तव्य हैन । धेरै टाढा जानु छ मलाई, रोकिनु मेरो जीवन हैन ।'

शनिबार काठमाडौंस्थित होटल एलिसमा कवितामा गुन्जिरहेका कवि श्रेष्ठले जीवनमाथिका दर्शन पनि सुनाए । कविताका पंक्ति भन्नुअघि उनले आफ्ना अनुभूति साट्दै भने, 'म आफूलाई महान कवि सोच्दिनँ । कविता मन पराउँछु ।' उनले थप्दै गए, 'कविता जति लेख्दै गएँ, उति नजानेको अनुभव हुँदो रहेछ ।' 

Poet Tirtha Shrestha heard in anecdotes and poems

मदन भण्डारी फाउन्डेसन तथा मदन भण्डारी प्रतिष्ठानको आयोजनामा एकल कविता वाचनको मञ्चमा उभिएका कविलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले माला लगाइदिएर सम्मान गरिन् । कवि श्रेष्ठले शनिबार सुनाएका कवितामध्ये केही जीवनका सम्बन्धमा थिए, केही प्रेमका । उनले 'प्रेमको पुस्तक' कवितामा आफूलाई यसरी पोखे :

तिमी छौ

म पनि छु

हामीसँग ती दिनहरू छैन

तर दिनहरूभन्दा सुन्दर छन् 

ती दिनका सम्झनाहरू

म त्यसैको उज्यालोमा पढिरहेछु

प्रेमको पुस्तक

कवि श्रेष्ठ बेला बेलामा सोचिबस्दा रहेछन्, 'म मरेको रात के हुन्छ ?  प्रलय हुन्छ ? सृष्टि चलिरहन्छ ।  कि रोकिन्छ ?'

त्यसपछि उनले लेखेछन् 'म मरेको रात' । 

Poet Tirtha Shrestha heard in anecdotes and poems

एकदिन पत्रकार किशोर श्रेष्ठले अन्तवार्तामा तीर्थलाई सोधेछन्, 'तिमी प्रेमका कविता लेख्छौ । तर प्रेमचाहिं कत्तिको गर्छौं ?' उनको जवाफ थियो, 'प्रेमचाहिँ गर्ने कुरा हो । भन्ने कुरा हैन ।' त्यसपछि तीर्थले लेखेछन् कविता :

'तिमीसँग प्रेमका कुरा दुनियाँलाई सुनाउँदै हल्का बनाउन चाहन्न

हल्लाको बजारमा तिमीलाई उचाल्दै पछार्दै तहल्का मच्चाउन चाहन्न...।

कुनै समय तीर्थ एकजना गुर्सिनी आमालाई घरको आँगनमा बसिरहेको देख्थे । र देख्थे आँगनअघि लाहुरे फूल फुलिरहेको । 'विधुवा ती बुढी आमा र फूलको तादम्य के हो ? कहिलेकाहीँ सोच्थें ।‌ त्यो लाहुरे फूल देख्दा उनलाई सधैं बिझाइरहेको महसुस त हुन्न ?  त्यो सोचेको धेरैपछि एउटा कविता लेखेँ,' तीर्थले  सम्झिए । त्यसपछि लेखेको कविता 'लाहुरे फूल, म तिम्रो नाम फेर्न चाहन्छु' पनि उनले सुनाए । 

यो माहोलमा तीर्थलाई हलभरि मन्त्रमुग्ध हुँदै काव्य प्रेमीहरू श्रवण गरिरहेका थिए । तीर्थले कवितासँगै मुक्तक र गजल पनि सुनाए । 

Poet Tirtha Shrestha heard in anecdotes and poems

२०१६ सालमा पोखरामा जन्मिएका तीर्थले ३० को दशकदेखि कविता यात्रा गरे । उनका तीर्थ श्रेष्ठका कविताहरू (कविता संग्रह, २०५५),जिन्दगीको कुरूक्षेत्रबाट (कविता संग्रह),महाभारतका गीतहरू (मुक्तक संग्रह), मेरै हिमालजस्तो (गीत संग्रह), पाइलाका निवहरूले (मन्जुल र कुमार आलेसँग संयुक्त कवितासंग्रह) र जिन्दगीको गोधुलीमा (मुक्तक संग्रह) लगायतका कृति प्रकाशित छन् । 

नयाँ कविताकृति 'हिउँमा लेखिएका नामहरू'सँग छिट्टै पाठकहरूले साक्षात्कार गर्नेछन् ।

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully