काठमाडौँ — विश्व कविता दिवसको अवसरमा वर्तमान कविता समूहद्वारा सुगम एकेडेमी, नयाँ बानेश्वरमा कविता संग्रह ‘आदिम प्रेमको गीत’ बारे परिचर्चा एवं विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
शान्ति र समावेशिताका लागि कविता एक सेतु भन्ने मुख्य भावका साथ आयोजित उक्त कार्यक्रममा डा. बालराम अधिकारी, रजनीमिला, र केशव सिग्देल प्रमुख वक्ताका रूपमा सहभागी थिए।
कार्यक्रमको सुरुमा सञ्चालक सञ्जय सुमनले विश्व कविता दिवसको परिचय दिँदै कविता विविध भाषिक एवं सांस्कृतिक आदान-प्रदानको प्रमुख माध्यम भएको उल्लेख गरे।
डा. बालराम अधिकारीले आफ्नो मन्तव्यमा भने, 'गएको अढाई दशकमा कविता सबैभन्दा बढी अनुवाद भएको विधा हो, तर यथार्थमा यो नै सबैभन्दा विवादास्पद र कतिपय अवस्थामा अनुवाद गर्नै नसकिने मानिन्छ।' उनले कविता अनुवादका चुनौतीहरूबारे चर्चा गर्दै मूल सर्जकसँगको सहकार्य र भाषिक परिष्कारको आवश्यकतामा जोड दिए।
त्यस्तै, रजनीमिलाले प्रख्यात कविहरू वाल्ट ह्विटम्यान र जोन मिल्टनको सन्दर्भ प्रस्तुत गर्दै संग्रहमा समेटिएका नेपाली कविताहरू संरचनागत र विषयगत रूपमा उत्कृष्ट रहेको बताए ।
केशव सिग्देलले अनुवादका विभिन्न पक्षहरूको चर्चा गर्दै संग्रहमा रहेका कविताहरूको व्याख्यात्मक विश्लेषण प्रस्तुत गरे। उनले विशेष रूपमा प्रेम कवितामा व्यक्त गरिएका प्रेमको प्रकृति र शैलीको गहन चर्चा गरे।
संग्रहको परिचर्चापछि विशेष कविता वाचन सम्पन्न भएको थियो । यस सत्रमा कविहरू प्रमोद स्नेही, भीष्म उप्रेती, विमल भौकाजी, टंक उप्रेती, सुमन थापा ‘संगम’, सुमी लोहनी, शोभा शरभ, सुवास सिंह पराजुली, रूपसिंह भण्डारी, दिल कुमारी डंगोल, सबिता गौतम दाहाल, हिरादेवी वाइबा, विनायक पन्त, नरेन्द्र बहादुर श्रेष्ठ, देवेन्द्र अर्याल ‘आँसु’ र ईश्वर थोकरले विभिन्न विषयमा कविता वाचन गरे। उनीहरूको कलात्मक प्रस्तुतिले श्रोताहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रमको अन्त्यमा वर्तमान कविता समूहका सदस्य कवि धीर कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै सहभागी तथा उपस्थित सबैलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आभार प्रकट गरे। कार्यक्रमले कविता शान्ति र समावेशिताको सशक्त माध्यम बन्न सक्छ भन्ने सन्देश दिँदै भाषिक तथा सांस्कृतिक विविधतालाई उजागर गर्ने अर्थपूर्ण अवसर प्रदान गरेको थियो।
