सामाजिक अभियन्ता पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार 

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

Badri Pahari Social Service Award to social activist Padam Sundas

काठमाडौँ — यसवर्षको बद्री पहाडी समाजसेवा पुरस्कार सामाजिक अभियन्ता पूर्वराजदूत पदम सुन्दासलाई प्रदान गरिने भएको छ । मानव अधिकार तथा शान्ति समाजले यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार' सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै सुन्दासलाई प्रदान गर्ने भएको हो।

पुरस्कार छनोट समितिको बैठकले १ लाख १० हजार रुपैयाँको यो पुरस्कार यसवर्ष सुन्दासलाई प्रदान गर्ने निर्णय गरेको शान्ति समाजका सभापति रेनुका पौडेलले जानकारी दिइन्। २००२ साल असार ३२ गते भोजपुरमा जन्मिएका सुन्दास विगत तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा क्रियाशील छन् । उनले २०७४ देखि ७८ सम्म ४ वर्ष बहराइनका लागि नेपालको राजदुत रहेर काम गरेका थिए।

सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन संयन्त्र) को रुपमा समेत भूमिका निर्वाह गरेका थिए। सामाजिक न्यायका लागि क्रियाशील एक दर्जन बढी संस्थामा आवद्ध सुन्दासले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए।

२०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका निर्वाह गरेका छन्। उनले उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्ष भएर समेत काम गरेका छन्।

सुन्दास नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको २० वर्षसम्म अध्यक्ष भएर काम गरेका छन्। उनी एशिया दलित अधिकार मञ्चको संस्थापक सदस्य समेत हुन्। सुन्दासका भोजपुरको चिनारी नामक पुस्तक र चोरिएको रात कथा संग्रह प्रकाशित छन्।उनी यसअघि २०७३ सालमा संस्कृति पर्यटन मन्त्रालयबाट भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका थिए।

कान्तिपुर संवाददाता

Link copied successfully