काठमाडौँ — झापा जन्मथलो भई हङकङमा बसोबास गर्दै आएकी लेखक बालिका बान्तावा उपन्यास ‘प्याउली’ लिएर पाठकमाझ आएकी छन् । कलरव धरान प्रकाशक रहेको उक्त कृतिको शनिबार काठमाडौंमा साहित्यकार उषा शेरचन, समालोचक बिन्दु शर्मा, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा र लेखक बान्तावाले लोकार्पण गरेका छन् ।
आख्यानकार शेरचनले ‘प्याउली’ सफल रहेको बताइन् । ‘के हिसाबले सफल छ भने, जसले भोग्छ नि उल्लाई ऐया भनेर दुखेको उसैलाई थाहा हुन्छ के ! मलाई चिमटेपछि मैले ऐया गर्नुपर्यो नि ! उहाँको भोगाइ उहाँको ऐया हो त्यो’, उनले भनिन्, ‘त्यसकारण आत्माबाट निस्केको कुरा, सबै कुरा मस्तिष्क भएर मात्र निस्कनुपर्छ भन्ने छैन । कहिलेकाहिँ मनबाट निस्केको कुरा पनि मनलाई छुने हुन्छ त । मनलाई छुने खालको छ ।’
कवि तथा समीक्षक शर्माले यो उपन्यास लेखकको जीवन–कथामा आधारित रहेको सुनाइन् । ‘यो कथा, यो भोगाइ बालिकाजीको मात्र होइन, हामी धेरैको भोगाइ हो । भलै हामी कोही बिछोडिएर जोडिएका हौंला । पुनः बिछोडिएका हौंला । कोही सम्झौता गरेर बसेका हौंला’, उनले भनिन्, ‘तर, हाम्रा भोगाइहरूचाहिँ सामान्यतया उस्तै हुन् । एकै हुन् । र, त्यो तह पार गरेकै हुन्छ । कतिले साहस गरेको हुन्छ, कतिले गर्दैन ।’
जीवन–कथात्मक उपन्यासमा आत्मकथा र आख्यानको भेद अति मसिनो हुने उनको भनाइ थियो ।
कवि तथा पत्रकार तुम्खेवाले यो किताब आफ्नो सिद्धान्तलाई एक ठाउँमा थन्क्याएर हृदयबाट पढ्नुपर्ने बताइन् । ‘बालिकाजीले आफ्नो जीवनलाई जसरी बाँचेर ल्याउनुभयो अथवा उहाँको जीवनमा जुन–जुन किसिमको प्रसंगहरू जोडिन आए, उहाँले काहिँ पनि ढाँट्नुभएन । र, मलाई लाग्छ, सबै यो प्रसंग उहाँले लेख्नुभयो’, उनले भनिन्, ‘तर, तपाईं–हामी सबैको जीवनमा यो सन्दर्भहरू छन् । यत्ति हो, कतिपय अवस्थामा हामीले भन्न सक्छौं । कतिपय अवस्थामा हामीले भन्न सक्दैनौं । त्यो आफ्नो ठाउँमा छ । र, भन्न सक्ने जसले हिम्मत गर्छ त्यो मान्छे वास्तवमै असाधारण हो ।’ कमै लेखकले मात्र आफूले बाँची ल्याएको जीवनलाई जस्ताको तस्तै रूपमा राख्ने हिम्मत गर्ने उनको भनाइ थियो ।
उपन्यासकार बान्तावाले आफूभित्र रहेका उकुसमुकुस पोख्ने माध्यम खोज्दा यो किताबको जन्म भएको सुनाइन् । पुस्तकमा आफैं प्रमुख पात्र भएर आएको उनको भनाइ थियो । ‘यो प्रमुख पात्रको चरित्र स्थापित गर्न जति पात्रहरू मसँग जोडिनुभयो ती तमाम पात्रहरूप्रति आभारी छु’, उनले भनिन्, ‘जीवनमा उहाँहरूले प्रेम, चोट, हैरानी, सास्ती नदिनुभएको भए आज यो किताब यसरी आउन पनि सक्ने थिएन ।’
प्रकाशकका अनुसार एक निडर, स्वाभिमानी र आत्मनिर्भर महिलाको जीवन संघर्षको कथा हो ‘प्याउली’ । ‘यस उपन्यासमा एक महिलाले भोग्नुपरेको जीवनका उकाली–ओरालीहरू छन् । सम्बन्धहरूले दिएका सास्ती, हैरानी र ऐंठनहरू छन् । प्रेम, वियोग र सुस्केराहरू छन् । अनि छन् पुरुष अहम्प्रतिका अचुक एवं निर्दयी प्रहार’, प्रकाशकको ठम्याइ छ ।
उपन्यासकार बान्तावाले आफू लेखक बन्ने रहरले यो पुस्तक नलेखेको बताएकी छन् । आफ्नो कथा भन्न मात्र लेखेको उनको भनाइ छ । ‘मलाई थाहा छ, लेखक बन्नका लागि विराट अध्ययन, अभ्यास, साधना र ज्ञानको जरुरत पर्छ । तर, मसित लेखक बन्ने विशेष त्यस्तो केही क्षमता, योग्यता वा विज्ञता छैन’, उनले भनेकी छन्, ‘छ भने यही एउटा टुटेको कथा । यसलाई पुस्तकको आकार दिँदै गर्दा मभित्रका ऐंठनहरू केही कम भएका अवश्य छन् । यो पुस्तक लेखिसकेपछि यस्तो लाग्यो, मनमा गााठा परेर बसेका चोटहरू कुनै न कुनै माध्यमबाट बाहिर निकाल्नै पर्दो रहेछ । जसले मान्छेलाई बाँच्न सजिलो बनाउँदो रहेछ ।’
सम्भव समूहले आयोजना गरेको कार्यक्रममा लेखक बान्तावाको रचना रहेको गीत सार्वजनिकसमेत गरिएको थियो । विक्रम राईको संगीत रहेको उक्त गीतमा सुनिता थेगिमले स्वर दिएकी छन् ।
