काठमाडौँ — पहलमानसिंह स्वाँर साहित्य विशेष 'टीकापुर साहित्य महोत्सव'को दोस्रो संस्करण शनिबारदेखि सुरु भएको छ।टीकापुरका सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्य र विभिन्न विज्ञको स्वागत मन्तव्यबाट महोत्सव सुरु भयो।
सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले टीकापुर साहित्य महोत्सवलाई सांस्कृतिक जागरणको अभियान भएको बताए ।
प्राध्यापक अभि सुवेदीले टीकापुर साहित्य महोत्सव टीकापुरमा प्राण हाल्ने र सिर्जनात्मक शक्ति आर्जन गर्ने प्रयास रहेको बताए ।
महोत्सवका संयोजक तथा अध्यक्ष महेशविक्रम शाहले अहिले देशभर साहित्य महोत्सव भइरहेको र यसले देशभरि साहित्यको ग्ल्यामर बढाएको मत राखे । द्वन्द्वको विषम परिस्थिति भोगेको सहर भएकाले पनि टीकापुरमा साहित्य महोत्सवलाई निरन्तरता दिएको उनको भनाइ थियो । साहित्यमार्फत सामाजिक सद्भाव नारा बोकेको महोत्सवको उद्घाटन सत्रमा उनले भने, 'बिस्तारै टीकापुरको चेतना जागृत होला।'
महोत्सवमा विद्वत् प्रवचन दिँदै विश्लेषक हरि शर्माले संसद्मा लोकतन्त्र महसुस गर्न नसकेको वर्तमान अवस्थामा यस्ता महोत्सवले 'मिनी लोकतन्त्र'को अभ्यास गर्ने अवसर दिएको विचार राखे ।
महोत्सवको उद्घाटनकै क्रममा चित्रमय टीकापुर महोत्सव २०७९ स्मारिकासमेत सार्वजनिक गरियो ।
महोत्सवमा २१ सत्र रहनेछन् । जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाहलगायतले नेपाली आख्यानका विविध विषयमा बहस गर्नेछन् ।
लेखकहरू विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनबारे विचार विमर्श तथा विश्लेषण गर्नेछन् । समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, व्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति अम्मरराज जोशी तथा धनन्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन् ।
मीन भाम, दीया मास्के, केकी अधिकारी, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, घिमिरे युवराज, शुशीला तामाङ लगायतले सिनेमा, नाटक र कलाका विविध विषयमा छलफल गर्नेछन् ।
महोत्सव २६ गते सकिनेछ ।
